बोक्सी भन्दै कुटपिट, पीडितलाई उल्टै ५० हजार जरिवाना !

जनकपुर, कार्तिक १८ । घरायसी र लेनदेन विवादमा धनुषाको धनौजी गाउँपालिकामा परिवारकै सदस्यले बोक्सी भन्दै महिलालाई कुटपिट गरेका छन् । विवाद मिलाउन बसेको पञ्चायतले कुटार्इ खाएकी महिलालाई उल्टै ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

धनौजी–२ की ३८ वर्षीया मनतोरिया मण्डललाई कात्तिक ९ गते घरकै सदस्यले कुटपिट गरेका थिए । अन्यायमा परेको उजुरीसहित आइतबार जनकपुर आइपुगेकी मण्डलले प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई पीडा सुनाइन् ।

उनका पति इन्द्रजित मण्डल दुबईमा छन् । सम्पत्तिका विषयमा परिवारमा किचलो छ । त्यही किचलोका कारण जेठाजु इन्दल मण्डलले उनलाई बोक्सी आरोप लगाउँदै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलले जनाएको छ । सेलले कुटपिट गर्ने पक्षलाई सोमबार छलफलका लागि बोलाएको छ ।

इन्दलले बुहारी बोक्सी रहेको भन्दै पञ्चायत डाकेका थिए । पञ्चायतमै सबैका सामुन्ने उनले मनतोरियालाई कुटपिट गरे । पञ्चायतमा खत्वे समाजका माइजन फुलगेन मण्डल, दुखी मण्डल, वीरेन्द्र मण्डललगायतले जेठाजुको लहैलहैमा लागेर आफूलाई कुटपिट गरेको उनको आरोप छ ।

कुटपिटपछि मनतोरियाले धनौजी गाउँपालिका–२ का वडाध्यक्ष राजकुमार साहलाई उजुरी गरिन् । वडाध्यक्ष साहले पञ्चले गरेको निर्णय स्वीकार गर्न दबाब दिएपछि प्रहरीमा उजुरी गरेको उनले बताइन् । साहले जरिवानाको निर्णय पञ्चायतले गरेको र मनतोरियालाई प्रहरीमा जान सुझाएको बताए ।

सम्बन्धित् समाचार  प्रचण्ड नेतृत्वमा दक्षिण एसियाकै शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणकाे अारम्भ

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले बोक्सी आरोपमा महिलालाई यातना दिएको ठहर भए कानुनअनुसार कडा कारबाही गरिने बताए । उनले घटनाबारे बुझन तत्कालै निर्देशन दिइएको र दोषीलाई कारबाही दायरामा ल्याउने बताए । त्यस क्षेत्रका प्रदेशसभा सांसद रामसरोज यादवले घटनाबारे अनुसन्धान गर्न माग गरेका छन् । कान्तिपुरबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: