निश्चल पीएसको सांगीतिक गजल संग्रह ‘पद्मिनी’ बजारमा

काठमाडौँ, कार्तिक १९ ।

हाल युएईमा रहेका गजलकार निश्चल पीएसद्वारा रचित गजलहरूको अडियो सिडी एल्बम ‘पद्मिनी’ सोमबार राजधानीको बानेश्वरस्थित अर्याल इन्टरनेशनल होटलमा एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

उक्त अडियो सिडीमा निश्चल पीएस रचित गजल संग्रह ‘सिसिफस जीवन’मा संग्रहित छ वटा गजलहरू राखिएका छन् ।

यस एल्बममा संग्रहित गजलहरूमा महेश खड्का, गैरे सुरेश, हरि लम्साल र तारा प्रकाश लिम्बूले संगीत दिएका छन् । त्यस्तै गजलहरू अन्जु पन्त. स्वरूपराज आचार्य, दीपक लिम्बू, ताराप्रकाश लिम्बू, नीरा रानाभाट र सुनिता थेगिमले स्वरबद्ध गरेका हुन् ।

‘पद्मिनी’ गजल एल्बमभित्र- कहाँ कहाँ खोजे तिमीलाई, टुट्नु नाता टुटेपछि, जब तिम्रो साथ हुन्छ, तिम्रो मनको बगैंचामा, म रुँदिनँ भन्छु र हिजो आज कुन्नि किन बोलका गजलहरू समावेश गरिएका छन् ।

उक्त समारोहमा अन्जु पन्तको स्वरमा रहेको यसै एल्बमको गजल ‘कहाँ कहाँ खोजे तिमीलाई’को भिडियो समेत सार्वजनिक गरिएको थियो । उक्त ‘म्युजिक भिडियो’मा निकेश खड्काको निर्देशन रहेको छ ।

उक्त कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ गीतकार रमेश पौडेल, सङ्गीतकार शक्तिबल्लभ, पूर्व मिस नेपाल सुविन लिम्बू र प्रमुख अतिथिको रूपमा वरिष्ठ गीतकार एवं गजलकार प्राडा कृष्णहरि बरालले मतव्य दिएका थिए ।

सम्बन्धित् समाचार  लिलाको ‘तीजको दिन कस्तो होला ?’बजारमा (भिडियोसहित)

कार्यक्रमको अध्यक्षता नेपाल गीतकार संघका अध्यक्ष चुडामणि देवकोटाले गरेका थिए भने गायिका नीरा रानाभाटले कार्यक्रम संचालन गरेकी थिइन् ।

उक्त सांगीतिक गजल संग्रहमा एली फोम्बो लिम्बूको लगानी रहेको र यसको बजार व्यवस्थापन पद्मिनी इन्टरटेनमेन्ट (प्रा) लिले गर्दैछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: