अर्काकी श्रीमती भगाएपछि ग्याङफाइट, १२ जना घाइते

रामेछाप, कार्तिक २४ । अर्काकी श्रीमती भगाएपछि दोहोरो झडप हुँदा रामेछापमा १२ जना घाइते भएका छन् । घाइते मध्ये आठ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

मन्थली नगरपालिका–७, भटौलीमा अर्काकी श्रीमती भगाएको भन्दै दोहोरो झडप हुँदा १२ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शेख अदालतले जानकारी दिए ।

झडपमा परी सोही ठाउँका खेमबहादुर माझी, सन्तोष माझी, पूर्णबहादुर माझी, समिर माझी, मिलन माझी, सोममाया माझी, चन्द्रमाया माझी, मिलन माझी, रामकुमार माझी, श्रीलाल माझी र लालबहादुर माझी घाइते भएका छन् ।

उनीहरु मध्ये चारजनाको जिल्ला अस्पतालमा उपचार गरिएको छ भने ८ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरु सबै अर्काकी श्रीमती भगाउने पक्षधरका युवाहरु रहेको प्रहरी निरीक्षक शेख अदालतले बताए । उनले अर्को पक्षका पनि केही युवाहरु सामान्य घाइते भएको जानकारी दिए ।

उनले घटनामा संलग्न रहेको आरोपमा आठ जनालाई जिल्लाका विभिन्न स्थानमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: