तराई क्षेत्रको महान पर्व छठ सुरु, आज हो ‘नहाय-खाय’

प्रदेश नं. २ को प्रमुख चाड ‘छठ’ सोमवार देखि विधिवत रूपमा सुरु भएको छ । प्रदेश नं. २ लगायत देशका विभिन्न ठाउँमा श्रद्धा पूर्वक मनाइने यो पर्व कार्तिक शुक्ल चतुर्थिदेखि विधिवत रूपमा मनाइने गरिन्छ ।

छठ पूजाको तयारीका लागि देशका विभिन्न ठाउँका जलाशयहरूलाई सजाउने काम सम्पन्न भैसकको छ ।

आजको दिन अर्थात छठको पहिलो दिन अर्थात् कार्तिक शुक्ल चतुर्थीलाई ‘नहाय-खाय’ भन्ने गरिन्छ । यस दिन श्रद्धालु भक्तजनहरूले पवित्र जलाशयहरूमा स्नान गरेर शुद्ध र सात्विक भोजन  भोजन ग्रहण गर्ने गर्दछन् ।

विधिवत रूपमा आजदेखि सुरु भएको मानिने भएपनि एक दिन अगाडि आइतबार नै ‘अरबा-आर्बाइन’ विधि सुरु गरिएको थियो । यस विधि-विधानको सुरुवात भएपछि धार्मिक कार्यका लागि अशुद्ध मानिएका खाद्य पदार्थ ग्रहण गर्न छोडेर छठी माईको व्रतको संकल्प लिने गरिन्छ ।

भक्तजनहरूले भोलि ‘खरना’ विधि सम्पन्न गर्ने छन् । खरनाका दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रती दिनभर उपवास बस्ने गरिन्छ ।

बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुलोमा र माटोकै नयाँ भाँडोमा सक्खर, दूध र गम्हरीको चामलको खीर पकाइन्छ ।

गम्हरी चामलको अभावमा धानको चामलको प्रयोग गरिन्छ । कतिपय परिवारमा खीरका साथै रोटी पनि पकाइन्छ ।

यस दिनको नैवेद्य चढाउने बेलामा जतिवटा अर्घदान गरिने हो, त्यतिवटा स्थानमा केराको पातमाथि नैवेद्य चढाउने गरिन्छ । यसरी चढाइने नैवेद्यमा खीर, दूध, केरा मूला, पान र सुपारी आदि राखिन्छन् ।

यस पर्वको मुख्य दिन भने कार्तिक शुक्ल षष्ठीको दिन रहेको छ । यस दिन निराहार व्रत बसेर साँझ पख नदी, तलाउ या अन्य जलाशयमा गई सूर्यलाई अर्घ्य दिने गरिन्छ । यसलाई ‘सँझुका अरघ’, ‘पहिला अरघ’ या ‘सन्ध्या’ अर्घ्य भनिन्छ । यसरी अर्घ्य दिइसके पछि पनि व्रत भने जारी नै रहन्छ । त्यसको भोलिपल्ट अर्थात् सप्तमी तिथिको बिहानै पुनः जलाशयमा गएर उदाउँदो सूर्यलाई अर्घ्य दिइन्छ । यसलाई ‘भोरका अरघ’, दुसरा अरघ’ या ‘उषा अर्घ्य’ भनिन्छ ।

यसरी सप्तमीको बिहान सुर्य पूजा सम्पन्न गरिसकेपछि घर आई प्रसाद ग्रहण गरेर व्रत फुकाउने गर्दछन् । व्रतालुहरू षष्ठीको रातभरि सूर्य र छठी माईको गीत गाइने प्रचलन रहेको छ । यस व्रतले व्रतकर्तालाई इच्छित वरदान प्राप्त हुने एवं सूर्यको उपासनाले सन्तान सुख र रोगब्याधि नलाग्ने जनविश्वास छ । यस पर्वमा भगवान सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी माताको नाम नै अपभ्रंश भएर ‘छठी’ हुँदै छठ हुन गएको मान्यता रहेको छ ।

यो पर्वमा श्रद्धा र निष्ठाको निकै ख्याल गरिन्छ । अघ्र्य दिने पूजा सामग्रीमा बनाइने ठकुवा, भुसुवासहितका मिष्ठान्न परिकार ढिकी–जाँतोमा कुटिएको र पिसिएको पिठोबाटै तयार गरिन्छ । पर्वमा अघ्र्य दिने पवित्र जलाशय किनारमा चित्ताकर्षक घाट बनाइने र सरसफाइ गरिने कामलाई महत्वका साथ लिने गरिएको छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएको यो पर्व अब पर्वते मूलका हिन्दू र इस्लाम धर्मावलम्बीहरुले समेत धुमधामसँग मनाउन थालेपछि छठ पर्व साझा पर्व बन्दै गएको मिथिला क्षेत्रका बुद्धिजीवीको भनाइ छ ।

छठ नेपालको तराईका अतिरिक्त भारतको बिहार, पूर्वी उत्तर प्रदेश, झारखण्ड, छत्तीसगढ आदि रह्य्हरूमा पनि निष्ठापूर्वक मनाइन्छ ।

 

कमेन्ट गर्नुहोस्