फलो-अनमा जिम्बाब्वे, मुस्फिकुर रहीमको रेकर्ड दोहोरो शतकले बंगलादेश बलियो

ढाका, कार्तिक २७ । बंगलादेशमा जारी टेस्ट शृंखलाअन्तर्गतको दोस्रो टेस्ट म्याचमा बंगलादेशले पहिलो पारीमा दिएको ५२२ रनलाई पछ्याउने क्रममा जिम्ब्वाब्वे ३०४ रनमै अल आउट भएको छ ।

राजधानी ढाकाको सेरे बंगला स्टेडियममा आइतबार सुरुभएको उक्त टेस्ट म्याचमा टस जितेर पहिले ब्याटिङ गर्दै बंगलादेशले दुई दिनको खेलमा ७ विकेटको क्षतिमा ५२२ रनको विशाल लक्ष खडा गरेको थियो ।

यसमा विकेटकिपर ब्याट्सम्यान मुस्फिकुर रहीमको दोहोरो शतकको महत्वपूर्ण योगदान रह्यो । रहीमले नट आउट रहेर २१९ रन जोडेका थिए । उनी दोहोरो शतक लगाउने विश्वकै पहिलो विकेटकिपर पनि भएका छन् । यसका साथै मोमिनुल हकले शतक लगाउँदै १६१ रन बनाएका थिए । नवौं क्रममा आएका मेहदी हसनको ६८ रन बाहेक अरु ब्याट्सम्यानको योगदान भने सामान्य नै रह्यो ।

जिम्बाब्वेको तर्फबाट कायले जार्भिसले ५ विकेट झारे भने टेण्डइ चतारा र डोनाल्ड तिरिपानोले १-१ विकेट लिए । दोस्रो दिनको खेलको अन्त्यसँगै बंगलादेशले आफ्नो पारी समाप्तिको घोषणा गरेपछि ब्याटिङ गर्न मैदानमा उत्रिएको जिम्बाब्वेको सुरुवात नै गतिलो रहेन । टीमको स्कोर २० रन हुँदा ओपनर ह्यामिल्टन मसकजादा १४ रनको नीजी स्कोरमा आउट भए ।

त्यसपछि ४० रन हुँदा डोनल्ड तिरिपानो (८), ९६ मा ब्रायन चारी (५३), गर्दै एकएक गर्दै ब्याट्सम्यानहरू आउट हुँदै गएको जिम्बाब्वेको पारीलाई तेस्रो विकेट पतन भएपछि आएका ब्रेण्डन टेलर (११०)ले सम्हाल्न खोजे पनि अर्को छेउका ब्याट्सम्यानहरू एक एक गरेर ढल्नथालेपछि जिम्बाब्वे फलो-अनका लागि बाध्य भएको हो ।

चारी र टेलर बाहेक पिटर मूर (८३)ले बाहेक अरु कुनै पनि खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन । जिम्बाब्वेका ३ खेलाडी शून्य स्कोरमा आउट भएका थिए ।

पहिलो पारीमा नै २१८ रनले पछि परेपछि जिम्बाब्वेले फलो-अन खेल्ने भएको छ । अब उसले लगत्तै दोस्रो पारी खेल्नेछ र उसले दुवै पारीमा बनाएको योगफल बंगलादेशको मौजुदा स्कोरभन्दा कतिले बढी हुन्छ त्यो नै बंगलादेशको विजय लक्ष हुनेछ ।

अब दुई दिनको खेल बाँकी छ र यदि यो दुई दिन जिम्बाब्वे नट आउट रहेको खण्डमा खेल बराबरीमा टुंगिएको मानिनेछ । त्यस्तै दोस्रो पारी खेल्दा पनि जिम्बाब्वे २१८ भित्रैअल-आउट भएको खण्डमा भने बंगलादेशलाई पारीको जीत हासिल हुनेछ । त्यस्तै आउँदा दुई दिनमा बंगलादेशले जिम्बाब्वेको अग्रतालाई दोस्रो पारीमा पछ्याउनु अगावै पाँचौं दिनको खेल समाप्त भएको घोषणा भएको खण्डमा पनि खेल बराबरीमा टुंगिएको मानिने छ ।

आइसीसीको टेस्ट ऱ्याङ्किङमा जिम्बाब्वे पुछारमा अर्थात १० औं नम्बरमा रहेको छ भने बंगलादेश एक स्थान माथि रहेको छ । यस वरियतामा पहिलो दोस्रो र तेस्रो क्रममा क्रमशः भारत, दक्षिण अफ्रिका र इङ्ल्याण्ड रहेका छन् ।

 

कमेन्ट गर्नुहोस्