शक्ति उन्मादको तप्केनिमा हराएको परिवर्तन

हाम्रो देशका नेताहरु भयानक चिन्तामा डुब्ने गर्छन् ।

चप्पल पड्काएर सिंहदरबार पुगेका होउन् वा गोल्डस्टार जुत्ताका जुम्रा कन्याउँदै काठमाडौं कुल्चिएका । यिनीहरु जहिल्यै तनावै तनावमा भेटिन्छन् । न यिनीहरुको काम भेटिन्छ, न त कहिल्यै फुर्सद देखिन्छ ।

सधैं आफ्नो सानमान र सम्मानको अपेक्षा राख्ने सत्ता लिप्साका सेठहरु देश बनाउने चिन्तनमा नभएर भाग नपुग्ने चिन्ताको चितामा डढिरहेका हुन्छन् ।

उदाहरणकै लागि कञ्चनपुर घट्नालाई हेर्दा पनि यिनीहरु देश र जनताप्रति कत्तिको बफादार छन् भन्ने कुराको सजिलै अड्कल काट्न सकिन्छ ।

मानवरुपी दानवहरुको दुर्व्यवहारमा परि ज्यान गुमाएकी निर्मला पन्त गरीब परिवारकी नेपाली चेली हुन् । उनका आमा दिदीबहिनीले सडकमा बसेर न्याय मागिरहेका छन् । उनीहरु यो देशका भुइँमान्छेको कित्तामा पर्ने महिलाहरु हुन् भने शीतल निवासमा पलेटी कसेर १८ करोडको गाडी माग गर्ने पनि नेपाली नारी नै हुन् ।

हिजो महिला पनि मेरो देशको ‘सर्वोच्च पदमा’ पुग्न सफल भए भनेर गर्व गर्ने ती निर्मलाका आमा दिदीबहिनीको न्यायिक आन्दोलनलाई शीतल निवास भित्रिने तरखरमा रहेको १८ करोडको गाडीले गिज्याइरहेको छ ।

आम उत्पीडित नारीहरुको कुण्ठित आवाजको प्रतिनिधित्व गर्ने भन्दै राज्यको माथिल्लो तहमा पुगेका प्रतिनिधिहरु सुख, सयल र यस आरामका लागि सुसारेलाई आदेश जारी गर्नमै दत्तचित्त लगाएर समय कटाईरहन्छन् भने ती भुइँमान्छेहरु न्याय खोज्न कुन लोक पुग्नुपर्ने ?

गणतन्त्रको ताज पहिरिएर दरबारको ओछ्यानमा ढल्किएर राजसिं ठाँट देखाउँदै लगाम फुकेर दौडिरहेको अत्याचारयुक्त नृत्यको रमिता हेरिरहेका महामहिमहरुलाई यस्ता पीडादायी दृश्यको निलकाँडोले घोच्दो हो ।

कि नाइँ ?

पुरुषहरुको त कुरै छाडौं ।

यदाकदा राज्यको उपल्लो तहमा पुगेका महिला प्रतिनिधिहरु पनि कर्तव्यबोध विहिन देखिए । देशमा महिला मुक्तिका ठुलठुला आन्दोलनहरु भए । यद्यपि पुरुषवादी समाजमा महिला मुक्तिको संघर्षले पुर्णतया सफलता हासिल नगरेपनी पहिलेको तुलनामा आंशिकरुपले अहिले केही फरकपनको आभास हुन थाल्यो ।

राष्ट्रपति, सभामुख र मन्त्रीजस्ता उपरी संरचनामा पुरुष सँगसँगै महिला प्रतिनिधि पनि पुगे । चुलोचौको, मेलापातदेखि घाँसदाउराको भुलभुलैयामा पारिएका नारीहरुमा ‘अब त केही होला कि’ भन्ने आशा पलायो । अहिले पनि देशकै सर्वोच्च पद राष्ट्रपतिमा सम्माननिय विद्यादेवी भण्डारीले दोस्रो कार्यकाल निभाउँदै छिन् ।

आम उत्पीडित नारिहरुको प्रतिनिधित्व गरेर उपल्लो तहमा पुगेका अन्यपनी थुप्रै महिला माननीय छन् । यो हामी आम नेपालीको लागि सुखद पक्ष हो ।

यसका साथसाथै यी पद र प्रतिष्ठासँग जोडिएका केही विषयहरु बेलाबखतमा हाम्रो अघि विडम्बना जस्तै बनेर उभिन्छन् । तपाइँहरुलाई अवगत गराईहालौं मैले यसको अर्थ राज्य संचालनको तहमा पुगेका पुरुष एकदमै सही र महिला गलत भन्न खोजेको किमार्थ होइन । बेथितिको मलजल गर्नुमा महिला पनि पुरुषभन्दा कम देखिएनन् भनेर चिन्तामात्रै जनाउन खोजेको हो ।

उमेश बन्जाडे

देशका कैयौं छोरी–चेलीहरु आफ्नै घरआँगनमै बलात्कार एवं दुव्र्यवहारको शिकार बनेका छन् । अपराधीहरु कारबाहीको दायरामा आउनु त परेको कुरो, सत्ता संचालककै पेरिफेरी र पहराभित्र हिँडिरहेका छन् । हाम्रा चेलीबेटीको लागि आफ्नै घर, खलियान र पानी पँधेरो मृत्युको घाट बनेका छन् । अझ पछिल्लो समयत झन संचार प्रविधिको बढ्दो बिकाश क्रमले गर्दा पनि होला ।

यस्ता आपराधिक क्रियाकलापहरु सतहमै बाहिर आइरहेका छन् । लुकाइनुभन्दा बाहिर आउनु त नराम्रो विषय होइन तथापी यस्ता खाले डरलाग्दा गतिविधिलाई कसरी न्यूनीकरण गर्ने भन्ने आजको चिन्ताको सवाल हो।

यता देशका शासक प्रशासकहरु मञ्च उक्लिएर घाँटी च्यातुञ्जेल सुशासन र समृद्धिको रशिलो डोरी बाटिरहन्छन् । उता आफ्नै टोलछिमेकमा एउटी निर्दोष छोरीको बलात्कारपछि निर्ममतापुर्वक हत्या गरिन्छ । यता यो देश हाँक्न आफू सिवाय कसैको हिम्मत छैन झैँ गरी कुर्लिएर सत्ताको सिरान लगाएकाहरु ‘हत्यारा पत्ता लाग्न अझै बाह्रवर्ष लाग्नपनी सक्छ’ भन्दै घिनलाग्दो अभिव्यक्ति दिएर पन्छिन खोज्छन् ।

हत्यारालाई आफ्नै दरबारको खोपीमा लुकाएर बाहिर हत्यारा खोजिरहेको अभिनय गर्ने यी खुरापातीहरुले पाँचवर्षका लागि सत्ता गठन गरेका हुन् या पार्टी बुझ्न सकिएको छैन । आफूहरुमाथि आइपरेको असह्य बज्रपातले थलिएका छोरिका बाबूले न्याय माग्दैगर्दा मानसिक सन्तुलन समेत गुमाउनुपरेको छ ।

अनाहकमा मानवरुपी दानवहरुको क्रूर पन्जामा परेर मारिएकी छोरीको न्यायका लागि पीडित परिवारले अझै के–के गुमाउनुपर्ने हो त्यो पत्तो छैन । रातदिन आफूलाई ‘गणतान्त्रिक नयाँ नेपालका अग्रगामी नेतृत्व’ भनेर दुई बित्तामाथि उफ्रिनेहरुले यो कस्तो तमासा देखाउन खोजेका हुन् ?

अपराध अनुसन्धान गर्न जागीर खाएको प्रहरी अधिकृतले अपराधको प्रमाण खुल्लमखुल्ला नष्ट गरेको जगजाहेर छ । त्यो भिडियो–दृश्य आइजीपी, गृहमन्त्री र प्रधानमन्त्रीले पनि हेरेकै हुनुपर्छ । जिज्ञासा जाग्छ— को होला त्यो सरकारभन्दा शक्तिशाली बलात्कारी–हत्यारा ? जसलाई जोगाउन राज्य शक्ति दुरुपयोग गरेर प्रमाण नष्ट गरियो ? अनि बर्खास्तीको अभिनय गरेर किन जोगाउन खोजियो असली हत्यारालाई ?

के ती कम्मर कसेर ‘प्रमाण नष्ट गर्न लागि परेकाहरु को बाट निर्देशित थिए ?’ भनेर उनीहरुलाई केरकार गर्न सक्ने हैसियत हाम्रो सुरक्षा निकायसँग नभएकै हो ?

कम्तीमा आफ्नो नैतिकता उदाङ्गो भएपनि आफूले पहिरिएको बर्दीको त थोरै इज्जत गर्न सिक महासयहरु । एसियाकै उत्कृष्ट प्रहरी संगठन भनेर नाकका पोर्रा फुल्लाउने नेपाल प्रहरी र इतिहासकै शक्तिशाली सरकार भनेर बम्किने मान्छेहरुलाई यो घटनाक्रमले थोरैपनी लज्जाबोध हुँदैन होला ?

घटनामा संलग्न ठानिएका आरोपित बम दिदीबहिनीप्रति प्रधानमन्त्रीले अनुसन्धानको सुरुमै सहानुभुति प्रकट किन गरे होलान् ?

सामान्य नागरिकले समेत ‘कुराको चुरो’ अड्कल काटिसक्दा पनि, दोषीलाई कठघरामा उभ्याउन प्रहरी प्रशासनको हत्केला किन थर्थराएको होला ? उहिले जनताको आन्दोलनलाई अँध्यारो कोठाबाट धारे हात लगाउने तर अहिले भने राजाको आँगनमा भैलेनी भट्टाएर गणतन्त्र आए जसरी चौतर्फी हात लम्काएर ठालु ठहरिन खोज्नेहरुले यसको जवाफ दिनुपर्दैन ?

चौतर्फी बेथिति मौलाइ रहँदा राज्यको उपरीसंरचनामा पुगेकाहरू भन्दैछन्– अधिकार प्राप्तिको लागि गरिने संघर्षका दिन सकिए । समृद्धि अनि विकासको युगको सूत्रपात भइसक्यो । आजसम्म भए गरेका हरेक परिवर्तनलाई शक्ति उन्मादको तप्केनिमा राखेर मस्ती गर्नेहरु परिवर्तनको कुम्लो बोकि सयन कक्षमा भ्रष्ट र अपराधी नाइँकेहरुसँग मोलमोलाइ गरिरहेका छन् । सत्ताको भर्‍याङ उक्लिएपछी परिवर्तन भन्ने चीज जहिल्यै यिनीहरुकै वरिपरि घुमिरहन्छ।

परिवर्तनको सुखानुभूति गर्न पाउनुपर्ने असली जनताहरुको दैनिकी झनै विकराल बन्दै जान्छ । आखिर यो अझै कहिलेसम्म ? अब राज्यसत्ताका साहुहरुले जवाफ दिनुपर्ने बेला भएको छ ।

कि अझै कतिन्जेल तिम्रा यी काला कर्तुतहरुको सोझा र निर्धा जनताहरु मुकदर्शक बनेर सही रहनुपर्ने?

लमही दाङ, हाल परदेश

कमेन्ट गर्नुहोस्

error: Content is protected !!