आइजिपी खनाल प्रकरण: पत्रकारले बनाए भ्रामक कहानी !

निश्चल दाहाल

हो, यो विदेशको नै कुरा हो । युएईको कुरा हो । वायुमण्डलमा तापक्रम घटेपनि यहाँको सामजिक संजालमा गर्मी बढेको छ ।

यथार्थ र मनगणन्ते कुराहरु बीचमा द्वन्द जारी छ । बास्तवमा समाज यही नै त हो नि होइन र ? कुनै कुरा तथा प्रसंग कहिले पनि एकरुपमा सबैले स्वीकार गर्दैनन । समाज जहिले पनि बाँडिएको नै हुन्छ । सायद कम्युनिस्टहरुले पढेको द्वन्द्वात्मक भौतिकबाद पनि यही होला ।

हामी बिदेशमा रहनु आर्थिक स्तर मात्र नभएर मानसिक अवस्था बिस्तार गर्नु पनि हो । सीप मात्रै हैन मनलाई फराकिलो बनाउन सिक्नु पनि हो । हामीलाई यहाँ आफ्नो नाम भन्दा पहिले देशको नामले चिन्छन किनकी हामी देशको दुत हो, प्रतिनिधी हो । हाम्रो हरेक कृयाकलापले हाम्रो ब्यक्तिगत आचारण मात्र हैन हाम्रो देशलाई झल्काई रहेको अवश्य हुन्छ ।

अब प्रसँग तिर जाअौं । प्रहरी महानिरिक्षक (आईजिपी) सर्वेन्द्र खनाल इन्टरपोलको माहासभामा भाग लिन दुबई आएका थिए एक टिम सहित । उनको यो भ्रमण अत्याधिक बिवादास्पद रह्यो । वा भनौ बिबादास्पद बनाउने काम भयो अथवा प्रयासहरु भए ।

ती बिवाद कति सहि र कति गलत भन्नेमा म एक सामाजिक अभियान्ता र त्यसको प्रत्यक्षदर्शिको हैसियतले केही लेख्दै छु । मलाइ न कसैको बचाउ गर्नु छ न त कसैको  खैरो खन्न नै आवश्यक छ । तर यथार्थ जनमानसमा पुग्नु पर्छ भन्ने मेरो दरिलो सोच हो ।

विभिन्न अनलाइन मेडियामा आएका कुराहरुमा सत्यता नभएको हैन तर सत्यलाई मोडिएको भने पक्कै हो । अध्ययन अनुसन्धान बिना ‘रे’ को भरमा, अनुमानको भरमा आईजिपीको बिरुद्दमा धेरै शब्द लेखिएका छन, यसले हाम्रो देशको चौथो ठूलो र महत्वपूर्ण मानिने अङ्ग सञ्चारको बिश्वासनियता झल्काउँछ । हरेक नेपालिको सुचनाको हकको प्रतिनिधित्व गर्ने यो पत्रकारिताको स्वरुपले कस्तो र को प्रतिको बफादारिता निभाउदै छ त ? कतै पपुलारिटिको प्रतिस्पर्धा त हैन? हो भने नभएको कुरामा, अनुमानको भरमा कसैको ईज्जतमा आँच आउने गरिको लेखनले गरिने पत्रकारितालाई ताला लगाउन आवश्यक छ ।

अनलाइन पोर्टलमा उत्थान गरिएका हरेक प्रसङ्गलाई यहाँ जोडि हेर्नेछु म सत्यता सहित । यी सत्यहरुको प्रमाण मसँग छ र म चुनौती दिन्छु यसलाई झुट सावित गर्न ।

के हो सर्वेन्द्रको रिट्रीट ?

माहासभामा भाग लिन दुबई आएका सर्वेन्द्र र उनको टीम (अनुसन्धान ब्युरो प्रमुख, डिआइजी, एसएसपि सम्मिलित) नेपाल सरकारको प्रतिनिधित्व गरेर युएई आएको हो । तर दूतावासले आफुलाई यस बारेमा खबर नभएको भनेर बताए भनी मेडियाले लेखे । समाचार सत्य हो भने खबर नै नभएको भए दुताबासले पत्रकारलाई जाउँ  कि नजाउँ भनेर सोधिरहनु पर्ने थिएन । यसको अर्थ दुताबासको प्रमुख सल्लाहकार पत्रकार नै रहेछन जो उक्त कार्यक्रममा आएनन् । खैर यसमा भित्र नघुसौ तर मेडियामा सुन तस्करसँग रिट्रीट भनी खुब चर्चा गरिएको छ, यसमा केही लेख्छु ।

हो, नोभेम्बर २१ तारिख बुधवारको बेलुकी सर्वेन्द्र खनाल र उनका टीम सहित युएईको सर्वाधिक अग्लो डाडा जबेल जैसमा अन्य नेपाली साथिहरुको रात्रीकालिन खानपिन थियो । यो खानपिन कुनै एक संस्थाको आयोजना नभएर केही साथीहरुको ब्यक्तिगत खर्चमा आयोजित थियो । बिदेसी भुमिमा देशको एक अभिन्न अङ्ग प्रहरी प्रशासनको प्रमुख आउदा खुशी नहुने कुरै छैन ।

सो कार्यक्रममा एनआरएनए युएईका अध्यक्ष रमेश श्रेष्ठ सहित अन्य केही साथिहरुको प्रतिनिधित्व थियो तर त्यहाँ आएका रमेश श्रेष्ठ एनआरएनका अध्यक्ष नभएर मनोरञ्जन खोज्ने रमेश भएर आएका थिए । आईसीसी सदस्य मनोज गोर्खाली एक सामान्य गोर्खाली भएर रमाउन आएका थिए । पत्रकार माहासंघ युएई सेक्टरका सचिव मेघराज सापकोटा आइजिपी पनि भेटिने डाडामा रमाइलो पनि गर्ने भनी गएका थिए । ईनास युएइका माहासचिव राम तामाङ्ग दुबइबाट घन्टौको यात्रा गरी भिआईपी पनि भेटिने र डाडाको चिसो पनि लिने भनी आएका थिए । जनजाती माहासंघका अध्यक्ष पासाङ्ग शेर्पा मनोरञ्जन गर्न त्यहा आएका थिए ।

यस्तै सोच सहित म पनि पुगेको थिएँ । हामी त्यहा पुगेको केही समय पछि ३३ किलो सुनकाण्डका आरोपि मध्येका एक ठाकुर ढुङ्गाना एक साथी सहित आइपुगेका थिए । स्मरण रहोस यो कुनै अफिसियल भेटघाट थिएन।

अलिकती खर्च गर्न सक्ने क्षमता राख्ने साथिभाइहरुको अग्रसरतामा आईजिपीलाई यसो घुमाउ न त भनी डाडा लगिएको थियो । अनअफिसियल आथित्य ग्रहण गरेका सर्वेन्द्र र उनको टिमले त्यहाँ को को आउँछन भनी खोजी सायद गरेनन नै होला ।

अन्य उपस्थित मध्ये भिजिट भिसामा मान्छे ल्याएर अलपत्र पारेका भनी आरोप लागेका एक ब्यक्ती पनि थिए । तर कसले कसलाई बोलायो त्यो नितान्त ब्याक्तिगत कुरा थियो । मैले माथी उल्लेख गरेको नामहरुसँग मेरो गफ भएकोले मैले उनिहरुको त्यहाँ आउनुको उदेश्य लेखेको हो ।

न्युज पोर्टलमा लेखेझै ठाकुर ढुङ्गाना खनालको नजिक कुर्सी लिएर बसे र उनको छेउमा रमेश श्रेष्ठ थिए । साथमा मेघराज सापकोटा पनि । मासु पोल्न ब्यस्त रेशम लामासँग भलाकुसारी गरि म पनि खनालको छेउमा कान थाप्दै पुगे र उनीसँग केही शब्द साटसाट भयो । जम्म २०-२२ जना भेला भएको ठाउमा कानेखुशी कहि थिएन । जसले जे बोल्छ खुलस्त र प्रस्ट थियो । ढुङ्गनाले मेरो मुद्दा मिलाइदिनु भनेको कहि सुनिएन । बरु मेघराज सापकोटाले बेला बेला यसो खनाललाई समसामयिक कुराका बारेमा प्रश्न सोधी रहेका थिए, उनी पत्रकार जो परे ।

एनआरएनका मनोज गोर्खाली र नवीन पौडेलले मादल तयार गरे । इनासका रामले गीतार । अनि सुरु भयो साङ्गितिक माहोल । के यसरी कुनै निकायका प्रमुखले आफ्नो अफिसियल काम सकेर ब्याक्तिगत जीवन जिउन पाउदैन त ? के उनको हरेक सेकन्ड फाइल र दस्तावेजमा नै खर्चिनु पर्ने हो त ? ब्यवहारिक भएर सोचौ त ।

यस् कार्यक्रममा कसैले फोटो नखिचौ भनी अनुरोध भने गरिएको थियो । बास्तवमा यो ब्यक्तिगत भेला नै थियो र त्यो फोटो नखिच्ने सल्लाह सहि पनि थियो । सायद फोटो लिइएनछ त्यसैले कुनै पनि पोर्टलले यो हो रिट्रिटको फोटो भनेर फोटो हाल्न सकेको छैन क्यार ।

रिट्रिट यहि नै थियो । यहि दौरान बरु खनालले आफुले नेपाल र नेपालीको नाक यहाको प्रशासन सामु ठुलो हुनेगरी कुरा गरेको भन्दै थिए । हामिलाई तपाईंहरु प्रतिनिधि हो देशको, आफू लगायत देशको बेइज्जत हुने काम नगर्नु भन्दै सम्झाउँदै थिए। के गल्ती भएछ त यहाँ ? कमजोरी नभएको भने हैन यहाँ पनि तर त्यसलाई म तल बर्णन गर्नेछु।

एनआरएन बार्षिक सभामा आरोपीसँग सर्वेन्द्र ?

नोभेम्बर २३ तारिखको दिन दुबइको कार्ल्टन होटलमा एनआरएनए युएईको बार्षिक सभा आयोजना हुँदै थियो । यस कार्यक्रमामा सर्वेन्द्र खनाललाइ प्रमुख अथिती बनाउने भनि प्रचार एनआरएनले गरेको थियो । सो कार्यक्रममा पँक्तिकार् स्वयम उपस्थित थियो र अथिती सहित सबैको कुर्सीको सेटअप मलाई राम्रोसँग थाहा छ ।

कार्यक्रम निर्धारित समय भन्दा केही घण्टा ढिलै सुरु भयो (हामि नेपालिको बानी) । त्यस कार्यक्रममा युएईका लागि नेपाली कावा राजदुत सागर फुयाल प्रमुख अथिती थिए र आईसीसी उपाध्यक्ष कुमार पन्त लगायत नेपाली समाजका अध्यक्ष चन्द्र प्रसाद सापकोटा, रिजनल उप कोअर्डिनेटर गोपाल कंडेल, आईसीसी सदश्य मनोज गोर्खाली, ठाकुर ढुंगाना, पासङ्ग शेर्पा, शालिक सुवेदी आदि विशेष अथिती ।

माथी उल्लेखित रिट्रिट निकै नै चर्चा भइ सकेको थियो । अनलाइन पोर्टलहरु यसलाई मसला हाल्न तम्तयार थिए र फोटो खोज्दै थिए । जानेर बुझेर वा बिजि भएर, कार्यक्रममा खनाल निकै ढिला पुगे र उनीले बिशेश अथितिको रुपमा आफ्नो स्थान लिए । उनको छेउमा कावा राजदुत, एनआरएन युएइ अध्यक्ष बिराजित थिए भने अलिक पर आइसिसी उपाध्यक्ष कुमार पन्त । आरोपित ठाकुर लगभग ४ मिटरको दुरीमा रहेको अर्को सेटअपमा थिए । खनालका टिमका अनुसन्धान बिभाग प्रमुख, डिआइजी र एसएसपी बरु ढुङ्गानाका छेउमा थिए।

कार्यक्रम चलिरहेको थियो म लगायत पत्रकार साथिहरु कार्यक्रममा ब्यस्त नै थियौ र बाहिर एक पटक पनि निस्केनौ (पछि खाना खान बाहेक) । त्यो कार्यक्रम दौरान कहि पनि ढुङ्गाना र खनाल बिच गफगाफ भएको देखिएन । अब कहि  कतै लुकेर नै भेटे, होटलमा नै भेटे भने मलाई चाहिँ जानकारी छैन । अनलाइन धेरै पोर्टलहरुले यसलाई उचाल्नु र तथ्यहीन भएर लेख्नु लज्जाको कुरा हो ।

किन उठे होला त यी प्रश्न ?

सर्वेन्द्र खनाल उपत्यका एसपी हुँदा देखि नै एक खरो प्रहरीको रुपमा चिनिन्छन । उनी प्रती देश जनताको ठूलो आशा भरोसा छ । यो तथ्य लुकाउन सकिन्न । अघिल्लो पटक नेफ्टा अवार्डमा आएका खनाल नेपाल जाने बित्तिकै ३३ किलोको जालो देखियो (उनको करामत थियो या संयोग यसै भन्न सकिन्न ।

त्यस पश्चात् उनिसँग अझ आश बढेर भने आएको हो । प्रहरी मेरो साथी आदि जस्ता कार्यक्रम लिएर बढेका खनालको कार्यकाल भित्र नै धेरै डनहरुको सफाया भएको छ । जानेर या अनजानमा यस्ता छबिका प्रमुखलाई आरोपित ढुंगानासँग बसेको सोचले सायद ती प्रश्न उठे होलान ।

एनआरएन युएईको कमजोरी

सर्वप्रथम त कुनै पनि संस्थाका कोहि प्रतिनिधि माथी सरकारी तवरमा नै आरोप लाग्छ भने त्यसलाई सम्बोधन नगर्नु संस्थाको ठूलो भुल हो । आरोपित ठाकुरका भनाइ के र सरकारको भनाइ के भन्दा पनि सत्य बाहिर अफिसियल रुपमा न आउन्जेल सम्बन्धित संस्थाले यसलाई सम्बोधन भने गर्नु पर्ने हुन्छ । जुन एनआरएनले हाल सम्म गरेको छैन । आरोपित ढुंगाना आईसीसीका सदस्य हुन जुन एनसीसी युएइको परिधी भन्दा माथी पर्छ । तर आईसीसीले यो बिषयमा निर्णय नहुन्जेल सम्म भनेर किन ढुंगानालाइ निलम्बन गर्न सकेन ? प्रश्न यो हो ।

नोभेम्बर २३ को कार्यक्रमको आयोजक एनआरएन युएइ थियो । सो कार्यक्रममा के गर्ने सबै निर्णयको अधिकार आफुमा निहित थियो एनआरएन युएईसँग । तर त्यहा धेरै कमजोरी भने भए । आईसीसी एउटा बडी हो जसको प्रतिनिधित्व कुमार पन्तले गरिसकेका थिए ।

युएईबाट आईसीसीमा प्रतिनिधि भएकोले मञ्च दिने हो भने उपकोअर्डिनटर गोपाल कंडेलले प्रतिनिधित्व गरि सकेका थिए । अब आईसीसी सदस्य ठाकुर ढुंगाना र मनोज गोर्खालीलाई बिशेश अथितिको रुपमा मञ्च दिनु पर्ने कुनै कारण थिएन । अझ एकै संस्थाका हरेक ब्याक्तिलाई माइक उपलब्ध गराउन जरुरी थिएन । यो चाँही माइक मोह जस्तो देखिएको हो ।

एनसीसी युएइले आरोप पुष्टि नभए पनि आफ्नो संस्थाको साख जोगाउन र संस्था बास्तवमा नै सफा छ भनी देखाउन ढुंगानालाई देशको सुरक्षा निकाय प्रमुख आउने कार्यक्रममा मञ्च दिन हुने थिएन । बिगतमा सिस्नोपानी कार्यक्रमको दौरान एक अर्का अभियुक्तलाई सम्मान गरेर ताना सुन्न परेको एनआरएन युएईले केही पाठ नसिकेको झै भने भान भएको छ ।

यसो भन्दै गर्दा युएइ एनआरएनले गरेको राम्रा कामहरुलाई भने बिर्षन सकिन्न । उनिहरुले सर्वप्रीय काम गरिरहेका छन तर आफुमा धब्बा लाग्न नदिन चनाखो भने हुन पर्छ।

भनिएको रिट्रीटको दिनमा पनि खनालसँग प्रत्यक्ष लिङ्क भएको एनआरएनले कस कस्को उपस्थिती हुन सक्ला भनी चासो भने देखाउन जरुरी थियो । यी कुराहरु लेखीरहदा मैले कुनै मानेमा आरोपित ढुंगानालाई तस्कर भन्न खोजेको हैन तर उनले पनि आफ्नो कारण संस्थामा के असर आउन सक्ला भनी मनन गर्न नसकेको हो कि भन्ने भने लागेको छ ।

अनलाइन खबर र अन्य पोर्टलका कमजोरी

एक देशको प्रतिनिधित्व गरेर आएका प्रतिनिधिमा देशको इज्जत जोडिएको हुन्छ । अझ युएईको सन्दर्भमा कुरा गर्ने हो भने यहाँ देखिने हरेक प्राय समाचार र काम कारवाही प्रती यहाँको सरकार र प्रशासनले सूक्ष्म नजर राखेको हुन्छ । यसरी देशको सुरक्षा निकाय प्रमुख जो इन्टरपोल जस्तो संस्थाको कार्यक्रममा आएका थिए, उनको नाम जोडेर कुनै अपराधी झै तुलना गर्दा देशको कस्तो इज्जत र मान देखाउन खोजेको हो ?

अघिल्लो दिन नेपाल र नेपालीको सान बढाउदै इन्टरपोल र यहाँको निकाय प्रमुखसँग कुरा गरेको सर्वेन्द्र प्रती समाचार आए पछी यहाँको निकायको धारणा कस्तो बन्छ ? १९० देशका प्रहरी प्रमुख आएका थिए । कही कतै पनि अन्य देशका प्रहरी प्रमुखको बारेमा नराम्रो सुनिएन । हाम्रो नेपालमा चाँही के भएको हो ?

कुनै समाचार सम्प्रेषण गर्नु अघि तथ्य नबुझी हाम्फाल्ने पत्रकार भनाउँदा प्रती म बिचरा बाहेक केही भन्न सक्दिन । यस्ता समाचारको यथार्थ नबुझी प्राकाशित गर्ने पोर्टलहरुदेखि म लज्जित बाहेक केही हुन सक्दिन । यस्तो क्रियाकलाप भनेको जनतालाई गुमराहमा राखेर पूँजीवादी पत्रकारितालाई प्रोत्साहित गर्नु हो । यसले कुनै मानेमा स्वच्छ पत्रकारितालाइ प्रतिनिधित्व गर्दैन ।

अन्त्यमा
सर्वेन्द्र खनाल एनआरएन युएईको कार्यक्रममा भाग लिन आएका हैनन । न त उनी डाडामा रिट्रिटका लागि आएका थिए । हामी त भाग्यमानी नेपाली जो जतिले भेट्यौ । कि देशको उच्च पदस्थ अधिकारीसँग गफ र मनोरञ्जन गर्न पायौ । उनको निजी जीवन पनि हेर्न पायौ । अब यसरी कसैको ब्याक्तीगत जिवनमा असर गर्ने काम गर्ने हो भने भोलिका दिनमा हामी सर्वसाधारण नेपालीको पहुँच उच्च अधिकारीहरुसँग हुन एकदम नै कठिन हुने छ । हामीले चेन अफ कमान्ड भन्दा पर रहेर उनिहरुसँग सरसल्लाह गर्ने भनेको सपना मात्र रहनेछ । ख्याल राखौ ।

मुख्य कुरो त हामीले आफू लगायत देशको नै बेइज्जत गर्ने परिपाटीलाई निरन्तरता दिदैछौ । त्यो पनि सस्तो लोकप्रियताको लागि । यथार्थले तपाइलाई पपुलर तुरुन्त नबनाउला तर जब हुन्छ दिगो हुन्छ।

गलत कुराले तपाईंका पोर्टल र पत्रकारिता पेशा चाडै फैलिएला तर त्यसको आयु छोटो हुन्छ र नकारात्मक रिजल्ट आउँछ। क्षणिक उक्साहटमा आएर नेपाल र नेपाली सबैको कुभलो हुने काम नगरौ । गलत अफवाह फैलाउने पत्रकारहरुले आँखा खोलुन !

कमेन्ट गर्नुहोस्

error: Content is protected !!