एउटै कण्डमको मूल्य ३ हजार रुपैयाँ !

काठमाडौं, मंसिर १५ । कण्डम भन्नेवित्तिकै अझै पनि लुकेर किन्न जाने, किन्न डराउने, महिला बसेको पसलमा किन्न हिच्किचाउने चलन छ । तर, चितवन स्थित ‘चितवन कण्डम हाउस’ मा भने त्यस्तो धक नमानी ग्राहकहरु आउने गरेको सञ्चालक बताउँछन् । विभिन्न विषेशता भएका कण्डमका भेराइटी यहाँ छन् ।

चितवन कण्डम हाउसमा ३५ देखि ४० प्रकारका विभिन्न साइज र प्रकृतिका कण्डम पाइन्छन् । १० रुपैयाँदेखि तीनहजारसम्म एउटै कण्डमको मूल्य पर्छ । शीघ्र स्खलनलाई रोक्ने, स्किनलेस विषेशता भएका विभिन्न साइजका कण्डमदेखि पुनः प्रयोग गर्न सकिनेसम्मका कण्डम उपलब्ध भएको सञ्चालक नेत्र पौडेलले बताए ।

निःशुल्क कण्डमदेखि खुद्रा र होलसेल दुवै तरिकाको ब्यापार चलेको छ । ‘अन्यत्र पसलमा कण्डम किन्न धक मान्नेहरु पनि देखेको छु,’ सञ्चालक पौडेलले भने, ‘यहाँबाट धक मान्नुपर्दैन, यहाँ कण्डम र सेक्स टोयमात्रै बिक्री हुने भएकाले त्यही नै किन्न आएको हो भन्ने कुरा बुझिहालिन्छ ।’

उनको पसलमा ५ देखि ७ इञ्चसम्मका ब्याट्रीबाट चल्ने भ्राइबेटर, नर्मल डबल अपडाउन र रोटेट कृत्रिम पुरुष लिङ्ग छन् । तीन हजारमा किनेर ६ देखि ७ महिनासम्म पुनः प्रयोग गर्न सकिने कण्डम पाइने सञ्चालक पौडेलको भनाइ छ । कोरीया, जापान, चीन, मलेसिया लगायतका देशहरुबाट कण्डम र सेक्स टोय ल्याएर बेच्ने गरेको उनी बताउँछन् । कण्डम नेपालमा बन्दैन । प्याकेजिङ मात्रै हुन्छ ।

चितवन कण्डम हाउसले अर्डर गरेअनुसार सामान भनेकै स्थानमा पुर्‍याइदिने भएकाले पनि खरिदकर्तालाई सजिलो भएको छ । ‘अर्डरकर्ताले फेसबुक फोनबाट सम्पर्क गर्न सक्छन्, हामी होम डेलिभरी दिन्छौं,’ सञ्चालक पौडेलले भने, ‘सामानको रकम हाम्रो एकाउन्टमा हालिदिएपछि, उनीहरुले भनेकै स्थानमा सामान राम्रोसँग प्याकिङ गरेर लगिदिन्छौं, प्रयोगकर्ता को हो, हामी चिन्दा पनि चिन्दैनौं ।’ अनलाइनखबरबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!