क्रिकेटसँगै क्याम्पस पढ्ने सन्दीपको धोको, भर्ना गरे जेभियर स्कुलमा

काठमाडौं, मंसिर १८ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दीप लामिछाने क्याम्पस भर्ना भएका छन् । उनी बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा मंगलबार भर्ना भएका हुन् । सन्दीपले बिहान आफैं कलेज पुगेर भर्ना फारम भरेका थिए ।

उनले मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क) अध्ययनका लागि भर्ना फाराम भरेका कलेजले जनाएको छ ।

सन्दीपले पढ्ने कलेजमा उनलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए । अब सन्दीपले तीन वर्षमा उक्त कोर्स पूरा गर्ने छन् ।

सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर पनि हुन् । सो कलेजले गरीब, विपन्न वर्गका विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्ति दिने गरेको छ । सन्दीपले खेल क्षेत्रमार्फत देशको इज्जत बढाएकाले उनलाई सम्मानस्वरुप पूर्ण छात्रवृत्ति प्रदान गरिएको भण्डारीको भनाई छ ।

सन्दीपले म्यानेजमेन्ट विषय लिएर प्लस टु पढे पनि उतीर्ण भएका थिएनन् । कलेजमा उनले एउटा भारतीय कलेजबाट प्लस टु पास गरेको सर्टिफिकेट पेश गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!