कुनै बेला लाहुर जान ठिक्क परेका अमित बराल बन्लान् त नेपाल आइडल ?

काठमाडौं, मंसिर १८ । नेपाल आइडल सिजन-२ को उपाधि भिडन्त नजिकिएसँगै बाँकी पाँच प्रतिस्पर्धी थप तयारीमा जुटेका छन् । उनीहरु अझैं स्रोता-दर्शकको मन जित्ने गीत प्रस्तुत गर्न थप तयारीमा जुटेका हुन् ।

उपाधि जित्ने-नजित्ने दर्शकको हातमा रहेकाले ‘दमदार’ प्रस्तुति दिने विश्वासका साथ बाँकी पाँच प्रतिस्पर्धी कडा तयारी गरिरहेका छन् । आइडलमा रवि ओड, अमित बराल, सुमित पाठक, बिक्रम बराल र अस्मिता अधिकारी बाँकी छन् । उनीहरुबाटै अब एकजना आइडल छानिने छन् ।

यी पाँच प्रतिस्पर्धीबाट को बन्ला त आइडल ? पक्कै अहिले नै जवाफ दिन निकै कठिन छ । कठिन यसकारण भएको छ कि सबैको प्रस्तुति ‘उत्कृष्ट’ छ । यसैबीच, ‘बुटवल अडिसन’ बाट नेपाल आइडलमा सहभागिता जनाएका अमित बराल पनि ‘आइडल’का मुख्य दाबेदार हुन् ।

बि.सं २०५१ साल असोज २ गते नवलपरासीको बर्दघाटमा जन्मिएका अमित बराल सैनामैनाबासी हुन् । बरालको परिवार पुर्ख्यौली थलो पाल्पादेखि २०४० सालमा नवलपरासी बसाई सरेको थियो ।

२४ वर्षीय अमितका बुवा जिवन बराल विगत १७ वर्षदेखि रोजगारीको शिलशिलामा कतारमा काम गर्दै आएका छन् भने आमा सीता बराल गृहिणी हुन् । बुवा अहिले विदाको समयमा घरमै हुनुहुन्छ । अमित माईलो छोरा हुन् भने एउटा बहिनी र भार्इ छन् ।

परिवारमा जेठो छोरो सुमित बरालको निकै मिठो स्वर थियो । उनले खुबै रुचिका साथ गीत गाउँने गर्दथे तर त्यस बखत अमितलाई गीत संगितमा भने त्यति धेरै रुचि थिएन । सामान्य गीत गुनगुनाउने मात्र गर्दथे ।

२०६५ सालमा आफ्ना दाजु सुमित बरालको असमायिक निधन भयो । निधन पश्चात मात्र अमितले दाजुले गीत संगित प्रति देखाएको लगावको सिको गर्दै स्व. दाजुको सपना पुरा गर्न तल्लिन हुन थाले ।

अमित नवलपरासी आईडलको टप ५ मा पर्न समेत सफल भए । योसँगै उनले बर्दघाटमा रहँदा नै सांगीतिक करिअर सुरु गरे । घर परिवारले पनि उनको सोखमा सहयोग गरिरहे ।

अमितका लागि आवश्यक बाद्ययन्त्र खरिद गर्न परिवारले कन्जुस्याईं गरेन । बरालले बर्दघाटमै रहेको न्युलाईट बोडिङ स्कुलमा कक्षा ७ सम्मको अध्ययन गरे । आर्थिक अवस्था सामान्य रहेको बराल परिवार जेठो छोराको निधनपछि २०६६र०६७ सालतिर नवलपरासीबाट सैनामैनामा बसाईसराई सरेको हो ।

अमितले बसाईसराई गरे संगै प्रभात आवसीय ईंङ्लिस बोडिङ स्कुलमा कक्षा १० सम्मको अध्ययन गरे । एस.एल. सी उत्तिर्ण गरी उच्च शिक्षाका लागि बुटवलमा रहेको अन्नपूर्ण मोडेल कलेजमा भर्ना भई अध्ययन गरे र प्लस टु उत्तिर्ण गर्न सफल भए ।

उनले लुम्बिनी कला केन्द्र बुटवलमा २ वर्ष सम्म संगीत सिकेका थिए । उच्च माध्यमिक विद्यालयको पढाई सकिएसँगै काठमाण्डौमा पनि उनले केही समय संगित शिक्षा लिए ।

यस क्रममा घरमा उनी बैदेशिक रोजगारमा जाने करिब निधो नै भैसकेको थियो । तर उनलाई नेपाल आईडलको पहिलो संस्करणले दाजुको सपना साकार पार्ने एउटा ठुलो अवसर प्रदान गर्यो ।

उनी नेपाल आईडलको पहिलो सिजनमा काठमाण्डौबाट अडिसन दिई थ्रेरटर राउण्डसम्म पुगे । नेपाल आईडलको पहिलो संस्करणबाट बाहिरिएसँगै उनले सिजन २ लागि सक्दो मिहिनेत गरे ।

साथै, भैरहवा अडिसनबाट छनोट भई नेपाल आईडलको दोस्रो संस्करणको यात्रा तय गरेका हुन् । नेपाल आइडल सिजन २ मा अमितले राम्रो प्रस्तुति दिदै आएका छन् ।

उनले केही अंक पहिले गाएको गीतले त कयौंको आँखा रसाएको थियो । अमितले ‘पन्छी’ बोलको गीत गाउँदा निर्णायक इन्दिरा जोशीको आँखाबाट त बरबरी आँशु निस्किएका थिए । त्यही गीतबाट अमितले थप दर्शक-स्रोताको मन जितेका छन् ।

त्यो गीतले मात्रै होइन उनले अन्य अंकमा दिएका प्रस्तुतिले पनि स्रोतादर्शकको मन जितेका छन । यसकारण पनि उनी पनि उपाधि जित्न सक्छन् । अब हेर्दै जाउ उनको यात्रा कहाँ पुग्छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!