ह्वात्तै बढ्यो शिक्षकको कापी परीक्षणको शुल्क, अन्तर्वार्तामा पनि वृद्धि

भक्तपुर, मंसिर १९ । शिक्षक सेवा आयोगले लिने परीक्षाको कापी परीक्षण र अन्तर्वार्ता लिनेहरुको शुल्क वृद्धि भएको छ ।

कापी परीक्षण गर्ने र अन्तर्वार्तामा बस्नेहरुलाई उपलब्ध गराईएको रकम निकै कम भएको भन्दै आयोगले शुल्क वृद्धि गर्न अर्थ मन्त्रालयसँग लविङ गर्दै आएको थियो । गएको मंसिर ९ गते अर्थ मन्त्री युवराज खतिवडाले रकम बढाउने निर्णय गरेका हुन् ।

आयोगले विषयगत र वस्तुगत तर्फ तह अनुसार प्रति कापी छुट्टा छुट्टै पूर्णाङ्कका लागि छुट्टा छुट्टै रकम उपलब्ध गराउँदै आएको थियो ।

जस अनुसार माविको २० पूर्णाङ्कका लागि यस अघि दिइदैं आएको १० रुपैयाँलाई बढाएर ३० बनाइएको छ भने ५० पूर्णाङ्कका लागि यस अघि दिईदैं आएको २० रुपैयाँलाई बढाएरु ६५ पुर्याईएको छ । यस्तै सय पूर्णाङ्कका लागि यस अघि दिईदैं आएको ४० लाई बढाएर ९० पुर्याईएको छ ।

निमावि तर्फ २०, ५० र १०० पूर्णाङ्कका लागि दिईदैं आएको १०, २० र ४० रुपैंयालाई बढाएर माविकै जस्तो क्रमशः ३०, ६५ र ९० रुपैंया बनाईएको छ ।

यस्तै प्रावि तर्फ सोही पूर्णाङ्कका लागि क्रमशः रु. ८, १५ र ३० रहेकोमा बढाएर क्रमशः रु. २०, ३० र ६० बनाईएको छ । यसै गरी बस्तुगत तर्फ यस अघिको २५ वटा बराबर रु. ५, ५० वटा बराबर रु. ६ र १०० वटा बराबर रु. ८ लाई यथावत राखिएको छ ।

तर अन्तर्वार्तामा बस्नेहरुले पाउने रकममा भने वृद्धि गरिएको छ । जस अनुसार यस अघि रु. १५ सय पाउने माविको लागि रु. २ हजार, १२ सय पाउने निमाविका लागि १६ सय र एक हजार पाउने प्राविका लागि रु. १२ सय तोकिएको छ । अन्तर्वार्तामा ५ जना बराबर १ समूह निर्धारण गरिएको हुन्छ ।

कापी परीक्षण र अन्तर्वार्तामा बस्नेहरुलाई दिने शुल्कमा भएको बृद्धिले काममा थप प्रभावकारिता ल्याउने आयोगका अध्यक्ष ताना गौतमले दावी गरे । इडियुखबरबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!