नेकपाको जिल्ला अध्यक्ष र सचिवका लागि नयाँ मापदण्ड

काठमाडौं, मंसिर २० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ६ महिनापछि प्रदेश कमिटीको एकीकरण टुंगो लगाए पनि नेतृत्व चयनको भागबण्डा विवादले तीन दर्जनभन्दा बढी जिल्लाको एकीकरण अड्किएको छ ।

प्रदेश तहमा बनेका एकीकरण कार्यदलहरूले जिल्ला एकीकरणसम्बन्धी प्रतिवेदन बुझाएको तीन महिना पुगे पनि केन्द्रीय सचिवालयमा नेतृत्व चयनको मापदण्डमा सहमति नहुँदा जिल्ला एकीकरण अड्किएको हो । तलै सर्वसम्मत भइसकेका थुप्रै जिल्लाको एकीकरणलाई पनि केन्द्रीय सचिवालयले अनुमोदन गरिसकेको छैन ।

महासचिव विष्णु पौडेलले सचिवालय बैठकमा जिल्ला अध्यक्ष, सोसरहको जिम्मेवारीमा रहेका व्यक्ति वा त्यसभन्दा माथिल्लो कमिटीमा रहेकामध्येबाट जिल्ला अध्यक्ष वा सचिव बनाउन सकिने गरी मापदण्ड प्रस्तुत गरेका थिए ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले भने पार्टी एकता दुई कमिटीबीचको एकीकरण भएकाले तत्कालीन एमालेको भागमा परेको नेतृत्वमा जिल्लाका पदाधिकारीमध्ये वरिष्ठताका आधारमा चयन गर्ने गरी मापदण्ड तोक्नुपर्ने मत राख्दै आएका छन् ।

जनप्रतिनिधिमा निर्वाचित व्यक्तिलाई पार्टीमा कार्यकारी भूमिका नदिने मापदण्ड बनिसकेकाले उनीहरूको सट्टा सिनियर पदाधिकारीमध्येबाट जिल्ला अध्यक्ष वा सचिव चयन गर्नुपर्नेमा नेपाल र खनालको जोड छ । नयाँ पत्रिका दैनिकमा यो खबर छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!