घण्टौँ हिँडेर दूध बेच्न बजार

बागलुङ, पुस ६ ।

उज्यालो नहुँदै डोकोमा दूध बोकेर बजार हिँड्नुहुन्छ ७० वर्षीय मोतीलाल सापकोटा । विसं २०५० देखि उहाँको दैनिकी यसरी नै चलेको छ । उमेर ढल्के पनि बागलुङ नगरपालिका–३ बोक्सेका सापकोटाको जाँगर भने उस्तै छ ।

दूध बोकेर बजार आउन डेढ घण्टा लाग्छ । दूधसँगै घरमा उब्जेको तरकारी पनि बिक्रीका लागि उहाँसंगै बजारमै आइपुग्छ । “बागलुङ बजारमा दूध बेच्न लागेको २५ वर्ष भयो”, सापकोटा भन्नुहुन्छ, “दूध र तरकारी गरेर मासिक रु ५० हजार जति कमाइ हुन्छ ।”

सापकोटाको घरमा तीन भैँसी छन् र चार रोपनी जग्गामा तरकारी खेती हुन्छ । “दैनिक १० लिटर दूध बेच्छु”, उनी बताउँछन्, “दूधसँगै तरकारी पनि बेच्छु ।” बिहानै बजारका घर र डेरा गरी बस्नेका कोठाकोठामा उहाँ दूध पुर्याउँछन् । इच्छा हुनेले तरकारी पनि सापकोेटाबाटै किन्छन् ।

बजारमा उहाँसँग दूध किन्ने नियमित ग्राहक छन् । कसैले एक लिटर त कसैले आधा लिटर दूध दैनिक राख्छन् । पैसा भने महीनाभरको एकैसाथ बुझाउँछन् । बिहानभर बजारमा दूध, तरकारी बेचेपछि खाना खाने समयमा सापकोटा घरै पुग्छन् र बाँकी दिन भैँसी र तरकारीबालीको रेखदेख तथा स्याहारमै बित्छ ।

साधारण खेती किसानी बाउबाजेबाटै सिकेका उनले दूध बेच्दा कमाइ हुन थाले पनि भैँसीपालनलाई व्यावसायिक बनाएका हुन् । “तीन-चार वटा भन्दा धेरै भैँसी बढाएको छैन”, सापकोटा भन्छन्, “मलाई यति नै ठिक्क छ, तरकारीबाट पनि राम्रै आम्दानी भइरहेको छ ।”

गोलभेँडा, साग, बन्दा, काउली, करेला, धनियाँलगायत तरकारी उब्जाउ गर्दै आउनुभएका उहाँलाई टनेल बनाउन केही वर्षअघि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदान दिएको थियोे । केही समय काममा सघाउन एक मजदूर राखे पनि अहिले सापकोटा आफैंले सबै काम धान्दै आएका छन् । “श्रीमती र बुहारीले पनि सघाउँछन्, धेरैजसो काममा म आफैं खटिन्छु”, सापकोटा भन्छन्, “७० वर्षको भएँ, अझै मेहनत र परिश्रम गर्नुपर्छ भन्ने सोँच आउँछ ।” बुढ्यौलीमा पनि कृषि पेशाप्रति उहाँको लगाव देखेर अरु गाउँले पनि प्रेरित छन् ।

स्वास्थ्यले साथ दिउञ्जेलसम्म कृषि पेशा नै गर्ने सापकोटाको अठोट छ । व्यक्तिगत लगानी, श्रम र मेहनतकै भरमा उहाँ कृषिमा टिक्न सफल भएका हुन्। “उनी सधैं हँसिलो, फूर्तिलो देखिनुहुन्छ, ग्राहकसँग गर्ने व्यवहार पनि राम्रो छ”, बागलुङ बजारकी कुमारी पौडेल भन्छन्, “ सापकोटाले ल्याउने दूधमा कुनै मिसावट छैन, तरकारी पनि ताजा ल्याउँछन् ।” श्रीमती दलदेवी, कान्छा छोरा प्रेम, बुहारी र नातिनातिनासँगै बस्दै आएका सापकोटाका जेठा छोरा रामकृष्ण र कान्छा छोरा प्रेम ‘पलम्बर’ हुन् । माइला छोरा लक्ष्मण जापानमा छन् । “मेहनत गर्न बुबाबाटै सिक्यौँ” रामकृष्ण बताउँछन्, “बुबा अहिले पनि काममा उत्तिकै खटिनुहुन्छ, काममै एकमन दिएका छन् ।”

सापकोटा बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घका शेयर सदस्यसमेत रहेका छन्। सहकारीमै दूध पठाउन चाहे पनि दूधको गाडी चल्ने सडक पायकमा नपरेपछि डोकोमै बोकेर बजार ल्याउनुपरेको उनको भनाइ छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!