चिरिबाबुले ‘बुढेसकालमा बाग्मतीमा हाम फाल्न पाए हुन्थ्यो’ भनेपछि ओलीको यस्तो टिप्पणी

काठमाडौं, ‘अब बुढेसकालमा भएपनि यो बाग्मतीमा एकचोटी हाम फाल्न मन छ ।” ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले माइकमा यसो भन्दा मञ्चमा बसेका प्रधानमन्त्री मज्जैले हाँसे ।

सहभागी नहाँस्ने त कुरै थिएन ।

कुरा हाम फाल्ने थियो तर यता चौतर्फी हाँसो ।

चिरिबाबु खानेपानी मन्त्रालय अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयद्वारा आयोजित पानी प्रशोधन केन्द्रको उद्घाटन समारोहमा बोल्दै थिए । प्रसंग थियो प्रशोधन केन्द्र निर्माणको ।

चिरिबाबुले बाल्यकालल स्मरण गर्दै बाग्मतीमा कुनै बेला पौडी खेल्न तछाडमछाड हुने गरेको बताउँदै हाम फाल्ने कुरा गरेका थिए ।

“म सानो छँदा स्कूलमा हाफ टाइम हुनेबित्तिकै या छुट्टी हुने बित्तिकै यही खोलामा आएर पौडी खेलिन्थ्यो । अनि तिर्खा लागे त्यही खोलाको पानी पनि कति चोटी खाइयो ।” चिरिबाबुले भने, “तर अहिले पुल तर्दा समेत नाक थुन्नुपर्ने अवस्था छ । तर गर्यौं भने नहुने केही छैन । मलाई यो बुढेसकालमा भएपनि एकचोटी बाग्मतीमा हाम फाल्न मन छ ।”

चिरिबाबुले राजधानी उपत्यकाका नदीहरु फोहोर भएकोमा चिन्ता व्यक्त गर्दै नदीहरु सफा गर्न महानगर र सरकार सबैले गम्भीररुपमा लाग्नुपर्ने बताए ।

चिरिबाबुपछि कार्यक्रमको अन्तिममा प्रधानमन्त्री केपी ओलीको पालो थियो सम्बोधनको ।

प्रधानमन्त्रीले चिरिबाबुको प्रसंगलाई किन छोड्थे र ? उनले भनिहाले, ‘अघि चिरिबाबुले हाम फाल्ने भन्नुभयो, अब बाग्मती हाम फाल्ने, पौडिने, लुगा धुने, नुहाउने बन्छ । तर पानी चाहिँ नखानु होला नि ?’

फेरी हाँसो । चिरिबाबु मुस्कुराए ओलीका शब्द सुन्दै ।

“हैन, खान पनि हुन्छ, हामी त्यति सफा गर्छौ ।’ प्रमले प्रसंग अगाडि बढाए, “तर खोलाको पानी खान योग्य नै भने हुँदैन । तर पौडी खेल्नुहोला मज्जाले ।”

प्रधानमन्त्रीले प्रकृतिले हरेक विकारलाई प्रशोधन गर्ने आफ्नै प्रणाली विकास गरेपनि मानिसले प्रकृतिको चक्रमा आक्रमण गर्दा त्यसले प्रदुषण निम्त्याएको बताए । नेपालका सबै नदीहरु स्वच्छ र सफा राख्न सरकार प्रतिबद्ध भएको उनको जिकिर थियो ।

कमेन्ट गर्नुहोस्