इलाममा किन कालो पोतियो प्रम ओलीको तस्बिरमा ?

फिदिम, पुस २० । इलाममा लगानी भित्र्याउने उद्देश्यका लागि शुक्रबार हुन लागेको लगानी सम्मेलनमा  पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम थपिएपछि सम्मेलन नै विवादमा परेको छ ।

लगानी सम्मेलनमा प्रधानमन्त्री अभिन्दन कार्यक्रमको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले विरोघ जनाएपछि सम्मेलन कार्यक्रम नै विवादमा परेको हो।  कांग्रेस इलामका अध्यक्ष हिमालय कर्माचार्यले विज्ञप्ति निकालेर अभिनन्दन कार्यक्रमको विरोध जनाएका छन् ।

तस्बिर सौजन्य: अन्नपूर्ण पोस्ट

खस्कँदो शान्ति सुरक्षा, अनियन्त्रित हत्या, बलात्कार र संस्थागत भ्रष्टाचार लगायतका घटना नियन्त्रण गर्न नसकेको भन्दै विवादमा आइरहेका प्रधानमन्त्रीको अभिनन्दनले इलामबासीको मान मर्यादा र चेतनाको अवमूल्यन हुने कांग्रेसको विज्ञप्तिमा भनिएको छ।

कांग्रेसले आफ्ना सबै तहलाई अभिनन्दन कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ । बिहीबार साँझ कांग्रेसले नगरभरि पर्चा छरेको छ ।  कार्यक्रमको प्रचारका लागि टाँगिएका पर्चामा प्रधानमन्त्री ओलीको तस्बिर राति नै कालो पोतिएको छ ।

कांग्रेसको विरोधपछि इलामको टुँडीखेलमा हुने भनिएको अभिनन्दन कार्यक्रम सम्मेलन स्थल गौतमबुद्ध सभागृहमा सरेको नगरपालिकाले जनाएको छ ।

टुँडीखेल, चोक बजार र कांग्रेस पार्टी कार्यालय अगाडि प्रहरी तैनाथ गरिएको छ ।  नगरप्रमुख महेश बस्नेतले विवाद आउनु लोकतन्त्रको सौन्दर्य भएको प्रतिकृया दिएका छन् । उनले भने ‘विवाद जहाँ जे मा पनि गर्न सकिन्छ, नगरपालिकाले कारणसहित सर्वसहमत निर्णय गरेर अभिनन्दन गर्न लागेको हो।’

लगानी सम्मेलन इलाम नगरपालिका, उद्योग बाणिज्य महासंघ, उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ र इलाम उद्योग बाणिज्य संघको संयुक्त आयोजनमा गर्न लागिएको हो ।
नेपाली कांग्रेस इलामले भने खलंगा स्थापनाको दुई सय बर्षको अवसरमा ८० लाख भन्दाबढि खर्च भएको भन्दै कार्यक्रम र सम्मेलनका नाममा कार्यकर्ता पोस्ने काम भएको आरोप लगाएको छ।

मेयर बस्नेतले लक्ष्य गरे भन्दाबढी खर्च भएको स्वीकार गरेका छन् । उनले भने ‘व्यक्तिले लगाएको पुराणमा त अनुमान गरेको रकमले पुग्दैन, यहाँ पनि अलिक बढी खर्च भएको छ।’ बर्षभरी गर्ने कार्यक्रमका लागि नगर कार्यपालिका बैठकले दश लाख मात्र विनियोजन गरेको कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्