क्यान्सर रोगीको अनुदानकाे रकम वृद्धि हुन्छः अध्यक्ष प्रचण्ड

भक्तपुर, पुस २० । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डल क्यान्सर रोगको उपचारका लागि भनेर असहाय र गरिबलाई दिइँदै आएको एक लाख रुपैयाको सहयोग राशिमा बढोत्तरी गर्न आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल क्यान्सर रिलिफ सोसाइटीको २८ औं केन्द्रीय सभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यसो भनेका हुन् ।

असहाय र निर्धन रोगीहरूलाई दिइने उक्त रकम क्यान्सर उपचारका लागि अपुग भएकाले त्यसलाई बढाएर पाँच लाख पुऱ्याउनु पर्ने समाजका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठको प्रस्तावमाथि बोल्दै प्रचण्डले भने, “पाँचै लाख त भन्न सक्दिनँ तर पाँच लाखसम्म पुऱ्याउने मेरो प्रयास रहन्छ ।”

साथै प्रचण्डले उक्त रकम क्यान्सरकै उपचारमा विशिष्टता प्राप्त अस्पतालहरूलाई मात्र प्रदान गरेर यसको दुरुपयोग समेत रोकिनुपर्ने बताए । क्यान्सरको उपचारका लागि ल्याइने भनेको अत्याधुनिक उपकरण राख्न अवश्यक पर्ने बंकरको व्यवस्था गरिदिन समेत सरकारसँग पहल गर्ने बताए ।

अध्यक्ष प्रचण्डले आफूले पनि क्यान्सर रोगका कारण परिवारका दुई सदस्य गुमाइसकेकाले आफूलाई यस रोगको गम्भीरताका बारेमा थाहा भएको समेत बताए । संविधानले नै शिक्षा, स्वास्थ्य र रोजगारीलाई मौलिक हकको रूपमा प्रस्तावित गरिसकेकाले यसलाई मूर्त रुप दिन नागरिक स्तरबाट र राज्यको स्तरबाट पहल हुनु आवश्यक रहेको प्रचण्डको भनाइ थियो ।

संविधानका प्रावधानहरू यस्ता क्षेत्रमा गम्भीर भएर लगानी बढाए मात्र प्रभावकारी हुनसक्ने प्रचण्डको भनाइ थियो । यसका लागि राज्य संवेदनशील र जवाफदेही हुनुपर्ने अध्यक्ष प्रचण्डले भने ।

क्यान्सर रोगको समयमै पहिचान र उपचार हुनसके यसबाट ज्यान गुमाउनेहरूको संख्या कम गर्ने सकिने स्मरण गर्दै अध्यक्ष प्रचण्डले यसका लागि व्यापक जनचेतनाको खाँचो रहेको औंल्याए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!