प्रहरीबारे भ्रामक समाचार लेख्ने पत्रकार पक्राउ

बझाङ, पुष २० । दर्ता नभएको अनलाइनमा प्रहरी विरुद्ध भ्रामक समाचार लेखेको आरोपमा बझाङमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा साइपाल पोस्ट नामक अनलाइनका गणेश विक रहेका छन् । सो अनलाइनमा प्रहरीको मिलेमतोमा बझाङमा चरेसको कारोबार भइरहेको विषयमा समाचार लेखेको भन्दै प्रहरीले पत्रकार विकलाई पक्राउ गरेको हो ।

बझाङको जयपृथ्वी नगरपालिका–३ घर भएका विकले साइपाल पोस्ट नामको अनलाइनमा ‘बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागूऔषध चरेस विक्री वितरण’ शिर्षको समाचार बिहीबार दिउँसो पोस्ट गरेका थिए । प्रहरी सङ्गठनको मर्यादामाथि आँच पुर्‍याएको भन्दै प्रहरीले बिहीबार नै विकलाई पक्राउ गरेको थियो ।

‘पहिला पनि यस्तै खालका झूटा समाचार अनलाइनमा पोस्ट गरेर विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने काम गर्ने गरेको रहेछ’ बझाङका डिएसपी प्रविण धितालले पक्राउ गर्नुको कारणबारे भने ‘अहिले त प्रहरीकै बारेमा हुँदै नभएको आरोप लगाएर समाचार लेखेको पाइयो ।

धेरै पटक सम्झाई बुझाई गर्दा नमानेपछि कारबाही गर्नु परेको हो’ उनले यस विषयमा उपल्लो निकायसँग पनि सल्लाह गरिएको र उनलाई साइबर अपराध सम्बन्धी मुद्दा चलाउनका लागि काठमाडौं पठाइएको बताए । यता पत्रकारका विभिन्न संगठनहरुले विकको पक्राउको विरोध गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!