मेलम्चीलाई समयमै सम्पन्न गराउन कर्मचारी तयार

काठमाडौं, पुष २० । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कर्मचारीले राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनालाई समयमै स्म्पन्न गराउन आफूहरु जस्तोसुकै योगदान गर्न पनि तयार रहेको बताएका छन् ।

उनीहरुले सो आयोजनाको पानी काठमाडौं उपत्यकामा ल्याउन आफूहरु सक्षम र तयार रहेकोसमेत बताएका छन् । केयुकेएलअन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन र स्वतन्त्र कर्मचारी सङ्गठनको आज भएको एकता भेलामा कर्मचारीले १८ घण्टासम्म खटेर भए पनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउन र सहज ढङ्गले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।

कर्मचारी युनियन एकीकरण कार्यदलका संयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने वातावरण तयार गर्न र वितरण गर्न आफूहरु दिनरात नभनी खट्ने प्रतिबद्धता जनाए ।

भेलामा अधिकांश कर्मचारीले छिटोभन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । सो अवसरमा खानेपानीमन्त्री बीना मगरले केही तत्वले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढङ्गले वितरण गर्न कर्मचारीमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउँदै मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्यमुख्य शहरमा खानेपानीको आपूर्ति गर्न केही ठूल ठूला आयोजना अगाडि बढाउन लागिएको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!