लघुकथा : भ्रष्टाचार– निवारण दिवस

मुलुकमा भ्रष्टाचार चरममा थियो । घुसतन्त्र र कमिसनतन्त्रको बोलबाला थियो । मानिसहरू आजित भइसकेका थिए । घुस बिना कुनै काम हुन्नथ्यो । मन्त्रीपरिषद्को बैठकमा यसबारे छलफल भयो । एक मन्त्रीले भ्रष्टाचार–निवारण दिवस मनाउने प्रस्ताव राखे ।

अरूले उडाए– ‘आज मन्त्रीज्यूलाई के भयो ? यस्तो फोकट्या प्लान ल्याउनुभयो । हामीलाई के फाइदा हुन्छ, त्यसबाट ? आफ्नै खुट्टामा बन्चरो हान्ने काम गर्नुहुन्न, मन्त्रीज्यू !’

उनले आश्वस्त पार्दै भने– ‘कस्तो कुरा गर्नुहुन्छ ? हाम्रो आयस्रोत कसरी बढाउने ? त्यो मलाई पुरा सम्झना छ । आज सबै भ्रष्टाचार बढ्यो भन्छन् । यस्तो अवस्थामा हामीले केही नगरी बस्नु हुँदैन । आयोग हाम्रै रक्षार्थ हो भन्ने दुनियाँले बुझिसक्या छ । भ्रष्टाचार–निवारण दिवसको घोषणा गर्दा एकातिर हामी चोखिन्छौँ, चोखा ठानिन्छौँ भने अर्कातिर जिल्ला–जिल्लामा दिवस मनाउँदा एकै दिन हामी सबैलाई दुई तीन ठाउँमा प्रमुख अतिथि भएर जाने अवसर मिल्नेछ । प्रत्येक ठाउँबाट मान पनि माल पनि भइहाल्नेछ ।’

सबै चुप !

अध्यक्षता गरिरहेका प्रधानमन्त्रीले गम्भीर भएर भने– ‘ल, यो प्रस्ताव सर्वसम्मतिले पास भयो । भ्रष्टाचार–निवारणमा हाम्रो ध्यान जानैपर्छ । अर्को एजेन्डा के छ ?’

… मुलुक भर दिवस मनाउँदा करोडौँ खर्च भयो । भ्रष्टाचारका विरुद्ध भाषण गर्दा गला अवरुद्ध भए पनि ‘‘भ्रष्टाचार– निवारण’’ दिवसका दिनमा सबै मन्त्री र तिनका खल्तीहरू प्रफुल्ल देखिन्थे ।

लघुकथा संग्रह  बोन्साइ (२०६८) बाट

कमेन्ट गर्नुहोस्