राजपासँग कुरा मिल्दा आत्तियो फोरम, सरकारलाई बुझायो ११ बुँदे स्मरणपत्र

काठमाडौं, पुस २१ । पछिल्लो केही दिनयता राजपासँग छलफलले गति लिएपछि प्रदेश दुईमा नै आधार भएको संघीय समाजवादी फोरम आँत्तिएको देखिन्छ ।
योसँगै फोरमले सरकारको कार्यशैलिको बिरोध गरेको छ ।

सत्ता साझेदार दल संघीय समाजवादी फोरम नेपालले आफू सहभागी भएको केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीको विरोध गरेको छ ।

फोरम नेपालका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवसहितका नेताहरुले शनिबार प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर बुझाएको ११ बुँदे ‘स्मरणपत्र’मा सरकारको शैली फेर्नुपर्ने सुझाव दिइएको छ ।

प्रधानमन्त्री ओलीलाई बुझाइएको स्मरणपत्रमा फोरमले दुईतिहाइ बहुमतको सरकार बनेपनि जनताले त्यसअनुसारको अनुभूति गर्न नपाएको भन्दै सरकारी कार्यशैलीको आलोचना गरिएको छ ।

फोरमले आफैं सहभागी सरकार अराजकता, ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचारमा लागेको दाबी गरेको छ । प्रधानमन्त्री ओलीलाई फोरमले बुझाएको पत्रमा भनिएको छ–‘मुलुकमा बढ्दो अराजकता, ढिलासुस्ती, कमिसनतन्त्र, भ्रष्टाचार र अनियमिततालाई नियन्त्रण गरी जनतालाई सामाजिक न्याय र सुशासनको प्रत्याभूति गराउन ध्यानाकर्षण गराउँदछौं ।’

फोरमले सरकार गठन भएको लगभग एक वर्ष हुन लाग्दासमेत त्यसको प्रत्यक्ष अनुभूति नेपाली जनताले किन पाउन सकेनन् ? भनी विश्लेषण र समीक्षा गर्न पनि माग गरेको छ ।

फोरम नेपालले संसदको जारी हिउँदे अधिवेशनबाट संविधान संशोधन गर्न माग गरेको छ । भेटमा सत्तारुढ दल नेकपाका अध्यक्ष प्रचण्डलगायतका नेताहरु उपस्थित थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि आफू सकारात्मक रहेको बताएका थिए । फोरमले प्रदेश सरकार सबल बनाउनुपर्ने, कर्णाली र प्रदेश नम्बर–२ को विकासका लागि स्पेसल प्याकेज’ बनाउनुपर्ने, आन्दोलनकाक्रममा नेता–कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिनुपर्ने, सरकारलाई सहयोग गर्न संयुक्त कार्यदल बनाउनुपर्नेलगायतका माग पनि अघि सारेको छ ।

कमेन्ट गर्नुहोस्