‘गोल्ड मेडल’ विजेता डम्बर बोहरा सम्मानित

काठमाडौं, पुष २१ । भारतको नयाँ दिल्लीमा हालै सम्पन्न ‘इन्डिया ओपन कप अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता’ मा ‘गोल्ड मेडल’ जितेका डम्बर बोहरालाई सम्मान गरिएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्बर १ ले उनलाई भव्य सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य नरबहादुर धामीले खेलाडी देशका गहना भएको र उनीहरु सम्मान गर्नु सबैको दायित्व भएको बताए । कार्यक्रमका प्रमुख अतिथिसमेत रहेको सांसद धामीले सुदूरपश्चिमको मात्र नभई देशकै इज्जत राखेकोमा खेलाडी बोहरालाई धन्यवाद र शुभकामना दिए । सांसद धामीले खेलाडीको सुरक्षा र आर्थिक स्थिती बलियो बनाउन राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

यस्तै, सुदूरपश्चिम प्रदेश सभाका सदस्य लालबहादुर खड्काले खेलाडीको आर्थिक स्थितीलाई बलियो बनाउन आफू पहल गर्ने बताए । कार्यक्रममा विशिष्ठ अथितीसमेत रहेका उनले आगामी दिनमा अझैं खेलकुदको माध्यमबाट आफ्नो भविष्य उज्यालो बनाउन खेलाडी बोहरालाई आग्रह गरे ।


बेदकोट नगरपालिकाका प्रमुख अशोक कुमार चन्दले खेलाडीलाई सधैं प्रोत्साहन दिन आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले खेलकुदको विकासका लागि विशेष काम गर्नुपर्नेमा समेत जोड दिए ।

डम्बरले केही दिनअघि ८० किलोग्राम समूहमा ‘स्वर्ण पदक’ जितेका थिए । उनले भारतीय खेलाडीलाई हराउँदै ‘गोल्ड मेडल’ हात पारेका हुन् । प्रतियोगिता पुष १४ देखि १६ गतेसम्म भएको हो । यसअघि पनि डम्बरले थुप्रै प्रतियोगितामा विभिन्न पदक जीतिसकेका छन् ।

यस्तै, पुष १५ गते भएको ‘जैविक मार्ग अन्तर्गत म्याराथन मार्च’ मा महिलातर्फबाट प्रथम हुन सफल पुष्पा पाण्डेलाई पनि सम्मान गरिएको छ । उनले १० किलोमिटर रनिङ गरेर प्रथम हुन सफल भएकी थिइन् ।

कमेन्ट गर्नुहोस्