आयो युद्धमोर्चाको ‘नेलेखिएका गाथा’ : आउँदो पुस्तालाई जनयुद्धको योगदान सम्झाई राख्नुपर्छः पूर्व सभामुख घर्ती

काठमाडौं, पुस २२ । जनयुद्धका एक कमाण्डर प्रदिप वालाचनद्वारा लिखित भिषण युद्धमोर्चाका संस्मरण संग्रह ‘नेलेखिएका गाथा’को सार्वजनिक भएको छ ।

शनिबार थेबा बुक्सले आयोजना गरेको कार्यक्रममा सो पुस्तक पूर्व सभामुख ओनसरी घर्तीले सार्वजनिक गरेकी छन् ।
पुस्तक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि घर्तीले बोल्दै, लेखक वालाचन एक इमान्दार र प्रतिबद्ध युद्ध कमाण्डर भएको र उनले युद्धमा भएका सत्य भोगाईलाई जस्ताको तस्तै उतारेको बताइन् ।

घर्तीले दशवर्षे जनयुद्ध विस्वको क्रान्तिकारी आन्दोलनको इतिहासमा नितान्त नयाँ मोडल भएको र यसको योगदान भुल्न नहुनेमा जोड दिदै भनिन्– ‘हजारौं योद्धाहरुले गरेको बलिदानले यो अवस्था आएको छ, प्रदिपजस्तै बाँचेका योद्धाले भावी पुस्ताको लागि कलम चलाई राख्नुपर्छ ।’

पुस्तकका लेखक प्रदिप वालाचनले आफूले कुनै विशेष साहित्यिक बिदाका मूल्य र मान्यताहरुलाई ध्यान पु¥याएर लेखेको भन्दा पनि युद्धमा भएका अनुभूतिलाई संगालेको धारण व्यक्त गरे । उनले अगाडि भने, ‘हिजो युद्धमा जे देखियो भोगियो, त्यही लेखियो, आन्दोलनमा आन्दोलनकारीले जेले भेट्यो त्यहिले हान्ने जस्तै गरी लेखेको छु ।’

हिजोको सत्य इतिहास नमरोस, सुन्दर सपना बोकेर हिँडेका सहिद तथा घाइतेका योगदान गुमनाम नहोस भनेर सो किताब लेखेको पनि बताए । साथै, वालाचनले एक छुट्टै प्रसंगमा बहुपहिचान तथा मिश्रित संघीयताको कुरालाई हटाएर भौगोलिक नामबाट प्रदेश नामाकरणको अभियान दुःखद भएको धारणा पनि राखे ।

त्यस्तै, संस्कृतिकर्मी तथा नेकपाका युवा नेता बलराम तिमल्सिनाले लेखक वालाचन असाध्यै मिलनसार र मेहनती व्यक्तिका रुपमा चिनेको धारणा व्यक्त गर्दै सो किताब भावी युवा पिँडीलाई उपयोगी हुने गरेर लेखेको पनि बताए । तिमल्सिनाले हिजोभन्दा आज राजनीतिक परिपाटी झन बिग्रेर गएको बताउँदै भने, ‘अहिले सुङ्गुरको खोरमा मुन्टो तल राखेर खुट्टामाथि राखेको अवस्था जस्तै भएको छ, त्यसको बारेमा पनि श्रष्ठाहरुले लेख्ने बेला आएको छ ।’

त्यस्तै, युवा नेता सरल सहयात्रीले पनि वालाचनको रचना जनयुद्धमा भएका वास्तविक घटनाको ऐनाजस्तै अनुभव गरेको धारणा राखे । उनेले भने, ‘प्रदिप एकजना ज्यँुदो सहिद हो उनीजस्तै हजारौं सहिद छन्, जस्ले परिवर्तन हुन सक्छ भन्ने विश्वास लिएर युद्धमा निशर्त हाम फालेका थिए, त्यसो हुन सकेन । तर, पनि यस किताबले हामीलाई क्रान्ति पूरा गर्न ब्युँझाइरहने छ, अरुले पनि पहल लिने प्रयास गर्नुपर्छ ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!