३० वर्षपछि फलोअनमा अस्ट्रेलिया, ७० वर्षपछि सिरिज जित्दै भारत

सिड्नी पुस २२ । अस्ट्रेलियाको सिड्नीमा भइरहेको चौथो तथा अन्तिम टेस्ट खेलमा भारत बलियो स्थितिमा पुगेको छ । टस जिती ब्याटिङ रोजेको भारतले पहिलो इनिङमा सात विकेटको क्षतिमा ६२२ रनको विशाल स्कोर खडा गरेपछि भारतको स्थित बलियो भएको हो ।

तुलनात्मक रुपमा सहज ब्याटिङ पिच देखिएको सिड्नीमा अस्ट्रेलियाले पहिलो इनिङमा सबै विकेट गुमाई ३०० रन मात्र बनाएपछि भारतले अस्ट्रेलियालाई फलोअनमा पठाएको छ । अस्ट्रेलियाको घरेलु मैदानमा ३० वर्षपछि पहिलोपटक अस्ट्रेलिया फलोअनमा परेको हो ।

अस्ट्रेलियाले दोस्रो इनिङमा चौथो दिनको समाप्तिसम्म बिना क्षति ६ रन बनाएको छ । सोमबार पाँचौं दिनको खेल समाप्तिको घोषणा हुँदासम्म अस्ट्रेलियालाई दोस्रो इनिङको ३२२ रनभित्र अल आउट गर्न सके या अस्ट्रेलियाले जोड्न भ्याएको बढी रनको लक्ष पछ्याए भारत विजयी हुनेछ भने अन्य अवस्थामा खेल बराबरीमा टुंगिएको मानिनेछ ।

यस शृङ्खलामा भारत २–१ ले अघि छ, र यो खेल बराबरी गरेमा वा विजयी भएमा भारतले शृङ्खला कब्जा गर्नेछ । भारत र अस्ट्रेलियाको ७० वर्षको टेस्ट इतिहासमा अस्ट्रेलियाली भूमीमा भारतले पहिलोपल्ट सिरिज कब्जा गर्ने देखिएको हो ।

कमेन्ट गर्नुहोस्