प्रचण्डको खुलासाः मन्त्रीका कामको समीक्षा हुँदैछ, तत्काल मन्त्री फेरबदल हुँदैनन्

बुटवल, पुष २२ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले मन्त्रीका कामको समीक्षा भइरहेको बताएका छन् । बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

अध्यक्ष प्रचण्डलाई पत्रकारले सरकारमा मन्त्रीको फेरबदलको विषयमा सोधको प्रश्नमा उनले तत्कालन मन्त्रिपरिषद् फेरबदल नहुने स्पष्ट गरे । प्रचण्डले सरकारका काम कारवाही र मन्त्रीको कामका बारेमा गम्भीर समीक्षा गरिरहेको तर तत्कालै मन्त्रिपरिषद् पुनःगठनको कुनै सम्भावना नरहेको बताए ।

यस्तै, बुटवलमा आजनै वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीद्वारा प्रकाशित ‘लोक अभियान पाक्षिक पत्रिका’को विमोचन गर्दै अध्यक्ष प्रचण्डले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताएका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, समावेशीसहितको समानता स्थापना हुनु समाजवादतर्फ अगाडि बढ्ने सुखद अवसर भएको बताउँदै उनले यस अवसरलाई खेर पाल्न नहुने बताए ।

अध्यक्ष प्रचण्डले नेकपाको नेतृत्वको दुई तिहाई सरकारले देश र जनतालाई समृद्धिको दिशामा अगाडि बढाउन खोजे पनि पराजित वर्गले प्राप्त उपलब्धीलाई निस्तेज पार्न विभिन्न प्रयत्न गरिरहेको आरोप लगाए ।

उनले दुई तिहाईको बहुमतको सरकारले जनताको पक्षमा काम नगर्ने हो भने प्राप्त उपलब्धी गुम्ने खतरा रहेको र सरकारले जनताका कुरा सुन्न छाडे प्रतिक्रान्तिको खतरा रहेको समेत औंल्याए ।

जनतालाई विभिन्न किसिमले भ्रमित बनाउने र कम्युनिष्ट एकतालाई विफल पार्न दायाँ वा बायाँ कोणबाट वा देशीविदेशी शक्तिबाट विभिन्न चलखेल भइरहेको बताउँदै उनले भने, “चलखेल निस्तेज पार्न सबैको हातेमालो जरुरी छ ।” अध्यक्ष प्रचण्डले विश्व क्रान्तिको आन्दोलन अहिले रक्षात्मक अवस्थामा रहेको बताउँदै अब कम्युनिष्ट आन्दोलनलाई अग्रगमनतर्फ भन्दा पनि रक्षात्मक तरिकाले अघि बढाउनु जरुरी रहेको बताए ।

कार्यक्रममा वरिष्ठ प्रगतिशिल लेखक तथा साहित्यकार दिल साहनीले लोकतन्त्रको सुदृढीकरणका लागि पत्रकारिताको खबरदारी सदैब हुनुपर्नेमा जोड दिए ।

पत्रिकाका प्रकाशक तथा वरिष्ठ पत्रकार कर्णबहादुर कार्कीले विगतमा जस्तै देश, जनता र प्रजातन्त्रका खातिर पत्रकारितामार्फत योगदान दिन र लोकतन्त्रका विरोधीलाई खबरदारीका लागि आफूले फेरी पत्रिका प्रकाशन गर्न लागेको जानकारी दिए ।

यस लगत्तै अध्यक्ष दाहालले आजै बुटवलस्थित नेकपाको पार्टी कार्यालयमा पार्टीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै स्थायी कमिटीको बैठकले कार्यकर्तामा एकतालाई अझै बलियो र उत्साहको सन्देश दिएको बताए ।

उनले अब छिट्टै नै तल्लो तहसम्म एकताको टुङ्गो लाग्ने बताउँदै कार्यकर्तालाई पार्टी काममा सक्रियता पूर्वक लाग्न निर्देशनसमेत दिए ।

कमेन्ट गर्नुहोस्