विपक्षी पार्टीलाई भोट दिएको भन्दै महिलामाथि सामूहिक बलात्कार

काठमाडौं, पुस २४ । बंगलादेशको हालैको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको भन्दै एक महिलामाथि सामूहिक बलात्कार गरिएको छ ।

बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित ७ जनालाई हिरासतमा लिएको छ । बलात्कृत ३५ वर्षीया महिलाका चार सन्तान छन् । उनका अनुसार गतहप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का उम्मेद्वारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरेका हुन् ।

अभियुक्तहरुले भने बलात्कारको आरोप अस्वीकार गरेका छन् । यद्यपि आरोपी नेता राहुल अमिनलाई सत्तारुढ अवामी लिगले पार्टीबाट निष्कासित गरेको छ।

पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबरजस्ती प्रवेश गरे । ती व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ती व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो ।

खबरहरुका अनुसार त्यस दिन ती महिला भोट होला मतदान केन्द्र गएकी थिइन् । मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिनलगायतले विपक्षी दलको उम्मेद्वारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ती महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो ।

जो मध्य राति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए ।

सामुहिक बलात्कारको घटना सार्वजनिक भएपछि केही व्यक्तिहरुले राजधानी ढाका र नोआखलीमा प्रदर्शन गरेका छन् । धेरै व्यक्तिले सामाजिक सन्जालमा आक्रोश पोखेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्