औपचारिकरुपमै चलचित्र ‘हृदयभरि’ निर्माण हुने घोषणा

काठमाडौं, पुस २४ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै नेपाली चलचित्र ‘हृदयभरि’ निर्माण हुने औपचारिकरुपमा घोषणा गरिएको छ ।

सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुष्मान घिमिर, सुमन श्रीलगायतको अभिनय रहने छ ।

यसै फिल्ममार्फत श्रद्धा क्षेत्री नेपाली चलचित्रमा डेब्यु गर्दैछिन् ।

भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् । चलचित्रलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् ।

त्रिकोनत्मल प्रेमकथामा निर्माण हुने फिल्ममा सौरभ विश्वास र रुचि विश्वास सहनिर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

चलचित्र घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार, आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहेको छ ।

फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फिल्मको छायाँकन फागुनको तेस्रो साताबाट सुरु हुने फिल्मको फस्ट लुक्सलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले तयार गरेका हुन् भने यसमा श्रीधर पौडेलको फोटोग्राफी छ ।

पल शाहः फिल्मको कथा वस्तु राम्रो लागेर नै मैले यसमा अभिनय गर्न लागेको हु । फिल्मले दर्शकलाई बाँध्छ, विषयवस्तु राम्रो छ । फिल्ममा मलाई चकलेटी ब्वाईकै रुपमा पाउनु हुने छ, तर अघिल्ला फिल्मभन्दा फरक रुपमा । मेरो लागि फिल्म संख्याभन्दा पनि गुणस्तर सधैं नै आवश्यक रहयो र यसमा पनि त्यही छ । फिल्मको टिम राम्रो छ, त्यसैले दर्शकले खोजेअनुसारको फिल्म दिने तयारीमा छौं ।

श्रद्धा क्षेत्रीः मलाइ फिल्ममा अभिनय गर्ने रहर थियो । त्यसैअनुरुप मोडलिङ हुदै फिल्ममा आइपुगेकी छु । मैले कोलकत्तामा रहेर काम गरिरहेको भए तापनि मलाई नेपाली फिल्ममै आउनु मन थियो । मलाइ पहिला त कास्टले नै इम्प्रेस गरेको हो तर जब कथा सुने झनै इम्प्रेस भए । मेरो लागि राम्रो प्रवेश टाइम भएको आभास भएकोले यसै फिल्म मार्फत आउदैछु , आश छ दर्शकको माया पाउने छु ।

सुरज सुब्बा नाल्बोः फिल्मले अहिलेको समयको युवापुस्ताको कथा भन्छ, त्यहि अनुरुप नै हामीले कास्ट लिएका छौ । हामीलाई चकलेटी हिरो र फ्रेश अनुहार चाहिएको थियो, त्यसैले श्रद्धालाई प्रस्ताव राख्यौ । उ, कोलकत्तामा रहेता पनि नेपाली फिल्म र नेपाललाई धेरै नै माया गर्ने । पलसँग जोडी पनि सुहाउने भएकोले उसलाई डेब्यु गराउन लागेका हौ । मेरो पछिल्लो फिल्मले पनि मनोरंजनसँगै कहिँ कतै संदेश दिएकै छ, यसमा पनि छ । राम्रो टिम पाएको छु, राम्रो फिल्म बनाउने आत्मविश्वास छ ।

निकेश लिम्बुः म विदेशमा रहेता पनि नेपाली फिल्ममा जोडिएकै छु । मैले निर्माण गरेको फिल्मले मनोरंजन पनि दिएका छन् भने केही सन्देश पनि । हसियाँ, रातो घर, ब्लाइन्ड रक्सपछि अब हृदयभरि लिएर आउँदै छु । कथावस्तु राम्रो छ, त्यसैले टिममा म पनि छु । यस फिल्मले पनि एउटा राम्रो फिल्मको रुपमा आफुलाई दर्शकसंगै फिल्म नगरीमा पनि परिचित गराउनेमा विश्वस्त छु ।

कमेन्ट गर्नुहोस्