बेहुली बनिन् बेली डान्सर बिनु शाक्य (फोटोफिचर)

काठमाडौं, पुस २४ । पछिल्लो समयकी लोकप्रिय बेली डान्सर बिनु शाक्य बेहुली बनेकी छिन् ।

विशेषगरी स्टेजमा आफ्नो बेली डान्सबाट दर्शकको मन जितेकी बिनु भिडियोका लागी मोडल कमल सिंहको बेहुली बनेकी हुन् । उनलाई बेहुली बनाउने काम निर्देशक सोनम पाख्रिनले गरेका हुन् । राजेन्द्र डंगोलको स्वर रहेको ‘कान्छी हे कान्छी’ बोलको डान्सिङ गीतमा कमलले बिनुलाई बेहुली बनाएर भित्राएका हुन्। कृष्णभक्त महर्जनको शब्द, संगीत रहेको गीत हरिशरण सायामीले एरेन्ज गरेका छन् ।

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको उक्त भिडियो उत्सव दाहालले खिचेका हुन् ।

ललितपुरको फर्पिङमा सोमबार भएको सुटिङमा केही कोरस डान्सरसँगै बेली डान्सर बिनुले गुनियो चोली लगाएरै पनि नृत्य गरेकी छिन् ।

आफूलाई बेली डान्सरको रुपमा चिन्दै आएका दर्शकका लागी यो भिडियो फरक हुने उनी बताउँछिन् । ‘कतिपय दर्शकले मैले बेली डान्समात्र गर्छु भन्ने बुझ्नुहुन्छ उनीहरुका लागि यो भिडियो फरक हुनेछ, यसमा कुर्ता सुरुवाल र गुनियो चोली पनि लगाएकी छु’ बिनुले भनिन् ।

यस्तै म्युजिक भिडियोमा पहिलो पटक बिवाहको दृश्य दिएकी बिनु भन्छिन् ‘अहिले सम्मको म्युजीक भिडियोहरुमा बिहे गरेकी थिइन्, म्युजिक भिडियोका लागी पनि यो मेरो पहिलो म्युजीक भिडियो हो, नयाँ अनुभव गरेँ ।’

यस्तै मोडल कमलले पनि बिवाहको दृश्यमा नयाँ अनुभव भएको बताए । साथै उनले डान्सर बिनुको तारिफ पनि गरे । ‘बेली डान्सर भनेर चिनिराखेको बेलीभन्दा फरक गीतमा पनि राम्रो नृत्य गर्नुहुदो रहेछ’ कमलले भने । भिडियोका निर्देशक सोनमले गीतको शब्द अनुसार कमल र बिनुको बिहे गराइदिएको बताए ।

भिडियो यसै साताभित्र बजारमा आउने निर्देशक सोनमले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्