मुलुकमा अब रोजगारी सिर्जना गर्ने शिक्षा चाहिएको छः प्रचण्ड

चितवन, पुष २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अब मुलुकमा रोजगारी सिर्जना गर्ने शिक्षा चाहिएको बताएका छन् । भरतपुर महानगरपालिका १९ किरणगञ्ज स्थित श्री किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको उद्घाटन गर्दै प्रचण्डले भने, ‘लाखौं युवाहरु विदेशिनु पर्ने बाध्यता विगतको शिक्षा प्रणालीले सिर्जना गर्यो । अब प्राविधिक, व्यावसायिक र रोजगारमूलक शिक्षा प्रणाली हुनुपर्छ । सरकारले र संसदमा पनि शिक्षालाई रोजगारमूलक र देशको विकास अभियानमा आवश्यक जनशक्ति उत्पादन गर्न सक्ने बनाउने काम सुरु गरेको छ । अब यो देशमा रोजगारी सिर्जना गर्ने शिक्षा चाहिएको छ ।’

उनले किरण अम्मरजंग गुरुङ माध्यमिक विद्यालयको नयाँ भवन निर्माणको प्रयासलाई पार्टी, सरकार र आफ्नो तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाए । शिक्षा मन्त्रालयसँग कुरा गरेर दरबन्दीको निम्ति सहयोग गर्ने प्रचण्डको भनाइ थियो ।

यस्तै, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले प्रचण्डले विकासका लागि अब राष्ट्रिय सहमति कायम गरिने बताए । ‘आपसमा लडाइँ झगडा होइन, विकासका लागि अब राष्ट्रिय सहमति आवश्यक छ’ राष्ट्रिय सहमतिका लागि नेपाली काँग्रेससँग संवादमा रहेको बताउँदै उनले भने, ‘राष्ट्रिय सहमतिका आधारमा शान्ति सम्झौता, संविधान निर्माण गर्यौं । अब विकासलाई अगाडि बढाउने छौं । हामीसँग जमिन छ, जंगल छ, जडिबुटी छन् । एउटा संकल्प गरेर राष्ट्रिय सहमतिका साथ विकास कार्यलाई अगाडि बढाउनु पर्छ ।’ चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधि सभा सदस्यमा प्रतिनिधित्व गरेका प्रचण्डले समृद्ध चितवन र समृद्ध नेपाल आजको आवश्यकता भएको बताए ।

पूर्वप्रधानमन्त्री प्रचण्डले पाँच वर्षभित्र यस क्षेत्रमा एउटा पनि बाटो कच्ची नरहने गरी सडक पिच गर्ने काम हुने बताए । ‘चनौलीसम्म बनिसकेको छ । मंगलपुरदेखि मेघौली पर्साढापसम्म जाने बाटोको स्तरोन्नतिका लागि टेण्डर भइसकेको छ । काम अगाडि बढिसकेको छ । माडी जाने राप्ती पुलसम्मको पनि काम भइसकेको छ’ उनले भने, ‘रिङरोड र लिंकरोड बनाइसकेपछि चितवनको विकासमा क्रान्तिकारी परिवर्तन आउँछ भन्ने मेरो विश्वास छ । चितवनलाई मेडिकल हबको रुपमा विकास गर्ने, कृषिमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने बारेमा कुराकानी भएको छ ।’ कृषिको विकासको लागि चितवनमा अर्बौंको लगानीको लागि इजरायलले चासो देखाएको उनले बताए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!