परराष्ट्रमन्त्री ज्ञवाली भन्छन्, ‘चीन र भारतबाट नेपाल त्रस्त हुनुपर्ने कारण छैन’

काठमाडौं, पुष २५ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको बलियो सरकार र बलियो परराष्ट्रनीति कैयौंलाई पाच्य नभएकाले आलोचना गर्ने गरेको बताएका छन्।

उनले आफ्नो भेटवार्ता अमेरिकी समकक्षी माइक पोम्पेओसँग हुनुलाई ठूलो उपलब्धिको रूपमा चित्रित गरेको भए पनि अमेरिकाले भनेको जस्तो ‘केन्द्रीय भूमिका’ मा नेपाल नजाने उनका पछिल्ला गतिविधिले प्रष्ट पारेको देखिन्छ।

शक्तिशाली मुलुक अमेरिकाको जोड दिएका कुरामा पछि सरेको भन्ने बीबीसीको प्रश्नमा उनले भने, ‘हरेक मुलुकको आफ्नो प्राथमिकता हुन्छ, नेपालको प्राथमिकता अहिले विकास र समृद्धि हो।’

भारतले विद्युत् खरिदसम्बन्धी व्यवस्था परिवर्तन गरेको, जलमार्गमा पहुँच र कृषिमा साझेदारीलाई उपलब्धिको रूपमा व्याख्या गरे।

अहिलेको सरकारको बाह्य सम्बन्धलाई दलीय आँखाले हेरेको भनेर सरकारको विरोध गर्ने लत कसैलाई लागेको भन्दै उनले विपक्षी दलहरूको आलोचना गरे।

दुई लाख अमेरिकी डलर खर्च गरेर नेपाल र भारतले तयार पारेको प्रबुद्ध समूहको प्रतिवेदन भारतलाई अस्वीकार्य भएको र रद्दीको टोकरीमा पुग्ने स्थितिमा रहेको कतिपय जानकारहरूले बताएका छन्।

तर मन्त्री ज्ञवालीले त्यसबारे भारतसँग निरन्तर कुराकानी भइरहेको र अन्ततस् स्वीकृत हुने विश्वास व्यक्त गरे। भारतले गरेको नोटबन्दी पछि नेपालका ब्याङ्क र सर्वसाधारणसँग करोडौँ रुपैयाँ कागजको खोस्टोमा परिणत भएको छ।

त्यस्ता नोटहरू भारतले भुटानबाट फिर्ता लिएको तर नेपालले किन त्यसमा केही गर्न नसकेको भन्ने प्रश्नमा उनले विरोध गर्नेहरूप्रति चर्को असन्तुष्टि व्यक्त गरे।

उनले दुई देशको सम्बन्ध अस्थीर हुँदा कतिले त्यसलाई कमाइ खाने भाँडो बनाउन पाउने हुनाले विरोध गरेको आरोप लगाए। उनले भने, ‘हाम्रा छिमेकीप्रति राम्रो सम्बन्ध राखेको कसैलाई पाच्य भइरहेको छैन। त्यसैले यसका बारेमा अनावश्यक विवाद सिर्जना गर्ने प्रयास भइरहेको छ त्यसलाई हामीले नजिकबाट हेरिरहेका छौँ।’ उनले देशभित्र र बाहिर पनि त्यस्ता समूह रहेको बताए। बीबीसीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!