जापान रोजगारीमा जान चाहनेलाई पछ्याउदै छन् दलाल

काठमाडौं, पुष २४ । केही सातायता काठमाण्डौंका ठाउँठाउँमा जापान जान तयारीमा सघाउन पुर्‍याउने ठूल्ठूला होर्डिङ्ग बोर्ड देख्न थालिएको छ । जापान जानका लागि भाषा सिक्नेको सङ्ख्या पनि बढेको छ।

तर सँगसँगै जापानी भाषा सिक्न थालेकामध्ये कतिपयले दलालको प्रलोभन आउन थालेको भन्दै ‘बिचौलिया’ नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

कामदारका रूपमा जापान जान पाइने खबर सार्वजनिक भएपछि जापानी भाषा सिक्नेहरू बढिरहेका बेला ‘बिचौलिया’ को जोखिम वृद्धि भएको उनीहरूको भनाइ छ।

सरकारी अधिकारीहरूले भने अन्य देशमा कामदार पठाउँदा जस्तो ठगी नहोस् भनेर जापानका हकमा थप सतर्कता अपनाइने बताएका छन्।

हाल नेपाल भ्रमणमा रहेका जापानी विदेशमन्त्रीसँग समेत त्यसबारे छलफल गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए।

उनले ‘कामदार छनौट प्रक्रिया पारदर्शी बनाउन र कामदारले खर्च गर्नु नपरोस् एवम् बिचौलियाले दोहन नगरून्’ भनी सरकारले पहल गरिरहेको बताएका थिए।

अधिकारीहरूले शून्य लागत र ठगी नहुने गरी नेपाली कामदार जापान पठाउन दुई देशका सरकारी निकायहरूलाई मात्र सहभागी गराइन लागेको जानकारी दिएका छन्।

तर, त्यसले पनि ठगी रोक्छ भन्ने ग्यारेन्टी नभएको कतिपय आलोचकको भनाइ रहने गरेको छ। बीबीसीबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!