अष्ट्रेलियामा पौडिने क्रममा नेपाली विद्यार्थी बेपत्ता

अष्ट्रेलिया, पुष २६ । अस्ट्रेलियामा नेपाली विद्यार्थी पौडिने क्रममा बेपत्ता भएका छन् । न्युसाउथवेल्स र भिक्टोरिया राज्यको सीमा क्षेत्रमा पर्ने अल्बरीको मुर्रे नदीमा बुधबार साँझ २१ वर्षीय नेपाली विद्यार्थी विगुल पण्डित बेपत्ता भएका हुन्।

अल्बरीस्थित मुर्रे नदीको नरेउल पार्कमा साथीहरूसँग कम्मरसम्म आउने पानीमा खेल्दै रमाइलो गरिरहेका पण्डित केही बेरमा हराएपछि उनको खोजी कार्य शुरु गरिएको थियो।

घटनालगत्तै प्रहरी, एम्बुलेन्सका कर्मचारी र स्वयम्सेवकले खोजीकार्य तीव्र पारे पनि बिहीबार साँझसम्म उनलाई फेला पार्न सकिएको छैन ।

त्यसमाथि नदीको पानी धमिलो भएकाले ३० देखि ४० सेन्टिमिटरभन्दा तल देख्न नसकिने हुनाले खोजी कार्य प्रभावित भएको कुरा ‘द एज’ पत्रिकाले लेखेको छ। चार्ल्स स्टर्ट विश्वविद्यालयमा अकाउन्टिङका विद्यार्थी पण्डितलाई उनका आफन्तले हँसिलो, मिहिनेती र इमानदार व्यक्ति रहेको बताएका थिए।

एडिलेडमा निश्चल घिमिरेको समुद्रमा डुबेर ज्यान गएको दुई साता पनि नबित्दै फेरि अर्को नेपाली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । अस्ट्रेलियामा नेपालीको संख्या बढेसँगै पानीमा डुबेर ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ।

कमेन्ट गर्नुहोस्