फोहोरबाट ‘मिथेन’ ग्यास निकाल्ने तयारी

भद्रपुर, पुस २७ । झापाका तीनवटा नगरपालिकाले नगरक्षेत्रबाट निस्कने फोहरबाट ‘मिथेन’ ग्यास उत्पादन गर्ने तयारी गरेका छन् ।

कनकाई नगरपालिका–२ सन्का बस्तीमा रु ८१ लाखको लागतमा ५४ कठ्ठा जग्गा खरीद गरेर नगरबाट निस्कने फोहर व्यवस्थापन गर्दै मिथेन ग्यास उत्पादन गर्ने तयारी गरिएको हो ।

विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाले पटक–पटक छलफल गरी नगरबाट निस्कने ‘फोहोरबाट मोहर’ बनाउन यस्तो निष्कर्ष निकालेका हृुन ।

अर्जुनधारा र विर्तामोडले नगरपालिकाले कनकाई नगरपालिकालाई नै कामको अख्तियार प्रदान गरेकाले ग्यास प्लान्ट सञ्चालन गर्ने स्थानसम्म पुग्नका लागि बाटो बनाउने र नजिकै रहेको सुरुङ्गा खोलामा बाँध बाँध्ने काम भइरहेको कनपाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए ।

ग्यास प्लान्टमा स्थानीयवासीकै स्वामित्व रहने गरी शेयर बिक्रीसमेत खुला गरिएको छ । हालसम्ममा रु ८० लाख बराबरको शेयर बिक्री भइसकेको वन, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक तथा कनकाई नरपालिकाका वडाध्यक्ष पर्शुराम गिरीले बताए ।

उक्त समितिले कार्यसम्पादनका लागि मिनाल तिम्सिनाको संयोजकत्वमा विर्ता, अर्जुन, कन्काई नवीकरण ऊर्जा समिति गठन गरेर काम शुरु गरेको हो । उक्त समितिले रु पाँच करोड बराबरको शेयर बिक्री गर्ने लक्ष्य लिएको छ ।

प्रदेश नं १ मा पहिलो पटक शुरु हुन लागेको ग्यास प्लान्टमा तीनवटै नगरपालिकाका जनताले शेयर सदस्य बन्न पाउने प्रावधान राखिएको वडाध्यक्ष गिरीले बताए । रु १५ करोडको लगातमा निर्माण हुने उद्योगमा झण्डै दुईसय स्थानीयवासीले रोजगारी पाउने जानकारी दिँदै उनले भने, ‘फोहर व्यवस्थापनका लागि पैसा खर्च गर्नुभन्दा त्यसलाई नै ऊर्जामा परिणत गरियो भने आम्दानी र रोजगारी दुवै हुने ठानेर मिथेन ग्यास उद्योगको परिकल्पना गरिएको हो ।’ यहाँबाट निस्कने ग्यासलाई सिलिण्डर वा पाइपलाइनमार्फत तीनवटै नगरपालिकाका जनताको घरघर पु¥याइने वडाध्यक्ष गिरीले उल्लेख गरे ।

उहाँका अनुसार एक हप्ताभित्रमा यसको निर्माणका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौंसँग सम्झौता गर्ने तयारी भइरहेको छ । चालु आवभित्र शुरु गरिने ग्यास प्लान्ट आगामी २०७६–०७७ देखि सञ्चालनमा ल्याइने कानपाका प्रमुख पोखरेलले बताए ।

हाल विर्तामोड नगरपालिकाबाट दैनिक छ टन, अर्जुनधारा र कन्काई नपाबनट तीन टन घरेलु फोहोर निस्किने गरेको छ । कुहिने र नकुहिने फोहरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने जानकारी दिँदै उनले कुहिने फोहरबाट मिथेन ग्यास र प्लाष्टिक जन्य फोहरबाट पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ ।

प्लाष्टिकबाट पेट्रोल निकालिने

प्रदेश नं १ ले झापालाई लक्ष गरेर फालिएका प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने सम्भावना अध्ययन भइरहेकोे कनपाका प्रमुख पोखरेलले बताए ।

उनले झापाका ५ वटा नगरपालिकाबाट निस्कने प्लाष्टिकलाई पाइरोलाइसिन प्रविधिबाट पेट्रोल निकाल्नेबारे वैज्ञानिकहरूसँग छलफल पछि यसको सम्भाव्यता अध्ययन भइरहेको बताए ।

नेपालमै पहिलोपटक प्लाष्टिकबाट पेट्रोलियम पदार्थ निकाल्ने उद्योग सञ्चालनका लागि प्रदेश नं. १ को सरकारले रु एक करोड समेत विनियोजन गरेको उहाँको भनाइ थियो । कनपाले गत वर्ष नै प्लाष्टिकबाट पेट्रोल निकाल्न सकिनेमा ‘डेमो’ समेत गरिसकेको नगरप्रमुख पोखरेलले बताए । उनले विर्तामोड, अर्जुनधारा, मेचीनगर र शिव सताक्षी नगरपालिकासँग समेत यसबारेमा छलफल भइरहेको बताए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!