अध्यक्ष प्रचण्ड भन्छन्, ‘बाँकी जीवन जनताको समृद्धिका निम्ति खर्च गर्छु’

आरुघाट, गोर्खा, पुस २७ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले समृद्धिका निम्ति राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । दोस्रो आरुघाट महोत्सवको उद्घाटन सत्रको प्रमुख अतिथिका रूपमा बोल्दै प्रचण्डले यसो भनेका हुन् ।

देशमा झण्डै सत्तरी वर्षपछि राजनीतिक स्थिरता आएको र यो उपलब्धि राष्ट्रिय सहमतिबाटै सम्भव भएको समेत उनले बताए । अबको एजेन्डा विकास र समृद्धि भएको र त्यसकालागि पनि राष्ट्रिय सहमति अत्यावश्यक रहेको प्रचण्डको भनाइ थियो । शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले आफूले बाँकी जीवन नेपाली जनताको समृद्धिका निम्ति खर्च गर्ने समेत बताए ।

अध्यक्ष प्रचण्डले बुढी गण्डकी जलाशययुक्त परियोजना जुनसुकै हालतमा पनि अगाडी बढ्ने बताएका छन् । दोस्रो आरुघाट महोत्सवको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्ने क्रममा बुढी गण्डकी परियोजना एवं मध्य पहाडी लोकमार्ग निर्माण यस क्षेत्रको विकासमा महत्वपूर्ण रहेको बताए ।

प्रचण्डले यस परियोजनाले ओगट्ने जग्गा अधिग्रहण र त्यसको मुआब्जा दिन साँच्चिकै ढिलो भइसकेको भए पनि यसको प्रक्रिया अगाडि बढीसकेको समेत बताए ।

आरुघाटबाट निम्ता आए आफ्नो अवस्था घरबाट माइत जाने चेलीको जस्तो हुने बताउँदै  प्रचण्डले आफूले विज्ञान तथा कृषि शिक्षकका रूपमा तीन वर्ष आरुघाटमा शिक्षण गरेको समेत स्मरण गरे ।

प्रचण्डले आरुघाटमा ४२ वर्ष अगाडि पढाएको स्मरण गर्दै भने, ‘त्यो छोटो अवधि साह्रै जीवन्त थियो । आरुघाटकै स्नेहले आफूलाई जीवन अगाडिको बाटो पहिल्याउन सहयोग पुग्यो ।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!