क्यान्सरका बिरामीलाई हेर्ने नजर बदलौं, आत्मबल दरो बढाऔंः खानेपानीमन्त्री

भक्तपुर, पुष २८ । खानेपानी मन्त्री बिना मगरले घर परिवार र समाजले क्यान्सर भएका बिरामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने बताएकी छन् ।

भक्तपुर क्यान्सर अस्पताल परिसरमा शनिबार क्यान्सर सर्भाइभ क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै खानेपानी मन्त्री मगरले रोग लागेका बिरामीलाई सहयोग र हौसला प्रदान गर्नुपर्ने बताइन् ।

मन्त्री मगरले भनिन्, ‘रोगसँग लड्ने आत्मबल बलियो बनाऔं । जब आत्मबल कमजोर हुन्छ अनि हामी बिरामी पर्छौं । त्यसैले क्यान्सर भएका बिरामीलाई आग्रह गर्छु, आत्मबल दरो बनाई गाउँ समाजमा सान्त्वना दिनुहोला ।’

उनले क्यान्सरलाई भयावहको रूपमा होईन कि सामान्यीकरण गर्नुपर्ने बताइन् । गाउँ र टोल टोलमा क्यान्सरबारे चेतना जागृत गराउन मन्त्री मगरले सबैलाई आग्रह गरिन् । भक्तपुर क्यान्सर अस्पतालमा थप खानेपानी पानीको व्यवस्थापन गर्न कुनै कसर बाकी नराख्ने उनले प्रतिबद्धता जनाइन् ।

मन्त्री मगरले भक्तपुर क्यान्सर अस्पतालमा प्रसुन देवी घिराइयाको आर्थिक सहयोगमा निर्माण भएको शुद्ध पिउने पानीको उद्घाटन समेत गरेकी थिइन् । शुद्धीकरण सहितको उक्त पिउने पानी करिब १२ लाख लगानीमा तयार भएको हो ।

कार्यक्रममा उक्त अस्पताललाई २३ लाख बराबरको अल्ट्रासाउन्ड मेसिन खरिद गर्न सहयोग पुर्याउनु हुने समाजसेवी रिना श्रेष्ठ र प्रसुन देवी घिराइयालाई सम्मान गरिएको थियो ।

यसैबीच, क्यान्सर पीडित व्यक्तिहरुले मन्त्री मगरसंग भेटघाट गर्दै सरकारले योग्यता अनुसारको जागिरको ब्यवस्था गर्नुपर्ने र महिनाको ५ हजार दिने सरकारको निर्णयलाई निरन्तरता दिनुपर्ने लगायतका माग राखेका थिए । उनीहरूको माग सुनिसके पछि उहाँले सरकारको तर्फबाट सहयोगको पहल गर्ने प्रतिबद्धता जनाइन् ।

कमेन्ट गर्नुहोस्