साँच्चिकै के अघोरीहरू डरलाग्दा हुन्छन् ?

बीबीसी । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा कुम्भ मेला शुरू हुन अब एक दिन मात्र बाँकी छ। गङ्गा नदीमा डुबुल्की मार्नका लागि हजारौँको सङ्ख्यामा विभिन्न सम्प्रदायका साधुहरू पनि जम्मा भएका छन्।

तिनै साधुहरूमध्ये एउटा यस्तो वर्ग छ, जसलाई लिएर आममानिसको मनमा डर भइरहन्छ। साधुहरूको त्यो वर्गलाई अघोरी सम्प्रदाय भनिन्छ।अघोरीहरू मसानघाटमा बस्छन्, जलिरहेका शवमाझ उनीहरू खाना खान्छन् र मसानघाटमै सुत्छन् भन्ने धारणा रहेको पाइन्छ। अघोरीहरू नाङ्गै घुम्छन्, मान्छेको मासु खान्छन्, खप्परमा खान्छन् र गाँजा तान्छन् भन्ने धारणा पनि रहेको पाइन्छ।

को हुन् अघोरी ?
लण्डनस्थित स्कूल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडिजमा संस्कृत पढाउने जेम्स म्यालिन्सन भन्छन्, ‘अघोरी दर्शनको सिद्धान्त यो छ कि यदि तपाईँले आध्यात्मिक ज्ञान हासिल गर्नुछ र ईश्वरलाई भेट्नुछ भने शुद्धताको नियमदेखि टाढा जानुपर्छ।’

म्यालिन्सन एक महन्थ र गुरु पनि हुन्, तर उनको समुदायमा अघोरी सम्प्रदायका प्रक्रियाहरू वर्जित छन्। कैयौँ अघोरी साधुसँग कुराकानी गरेका उनी भन्छन्, ‘अघोरीहरू राम्रो र नराम्रोसम्बन्धी सामान्य नियमलाई मान्दैनन्।’

‘आध्यात्मिक प्रगतिको उनीहरूको बाटो मान्छेको मासु र दिसा खानु जस्ता अनौठो प्रक्रियाबाट पूरा हुन्छ। तर अरूले त्याग गरेका चीज सेवन गरेर परम चेतना प्राप्त हुने उनीहरूको विश्वास हुन्छ।’

अघोरीहरूको इतिहास
अघोरी सम्प्रदायको इतिहासको कुरा गर्नुपर्दा यो शब्द १८ औँ शताब्दीमा चर्चाको विषय बन्यो। तर यो सम्प्रदायले ती प्रक्रियाहरूलाई अपनाएको छ, जसका लागि कुनैबेला कपालिका सम्प्रदाय कुख्यात थियो।

कपालिका सम्प्रदायमा मान्छेका खप्परसँग जोडिएका अनेकौँ परम्पराका साथै मानव-बली दिने प्रथा थियो। अहिले चाहिँ त्यो सम्प्रदाय अस्तित्वमा छैन।

तर अघोरी सम्द्रदायले कपालिका सम्प्रदायका सबै कुरालाई जीवनमा सामेल गरिसकेको छ। हिन्दू समाजमा अधिकांश पन्थ र सम्प्रदाय निर्धारित नियम अनुसार चल्छन्। सम्प्रदायलाई मान्नेहरूले संगठनात्मक ढङ्गले नियमहरूको पालना गर्छन्।

तर अघोरीहरूको हकमा यस्तो छैन। यो सम्प्रदायसँग जोडिएका साधुहरू आफ्नो घरपरिवारसँग सम्पर्क तोड्छन् र बाहिरका मानिसमाथि पनि विश्वास गर्दैनन्।

अघोरीहरू तथाकथित सानो जातका हुन्छन् भनेर पनि भनिन्छ। म्यालिन्सन भन्छन्, ‘अघोरी सम्प्रदायमा साधुहरूको बौद्धिक कौशलमा निकै अन्तर देखिन्छ। केही अघोरी यति तीक्ष्ण बुद्धिका थिए कि उनीहरूले राजाहरूलाई रायसल्लाह दिन्थे। एक अघोरी नेपालका एकजना राजाको सल्लाहकार पनि भएको बताइन्छ।’

घृणा गर्दैनन्
अघोरीबारेको एउटा पुस्तक ‘अघोरीः ए बायोग्राफिकल नोबल’ का लेखक मनोज ठक्करका अनुसार अघोरीहरूबारे मानिसमा भ्रामक जानकारी बढी छ।

उनी भन्छन्, ‘अघोरीहरू निकै सरल हुन्छन्, जो प्रकृतिसँग बस्न रुचाउँछन्। उनीहरूले कुनै प्रकारको माग गर्दैनन्।’

‘उनीहरू सबै चिजलाई ईश्वरको अंशका रूपमा हेर्छन्। उनीहरू न कसैलाई घृणा गर्छन् न कुनै कुरालाई खारेज गर्छन्। त्यसैकारण उनीहरू मान्छे र जनावरको मासुमा फरक देख्दैनन्।’

म्यालिन्सन र ठक्कर दुवैका अनुसार अघोरी पद्धतिलाई सही ढङ्गले पालना गर्नेहरू चाहिँ थोरै छन्। उनीहरूका भन्छन्, कुम्भ मेलामा देखिने अधिकांश स्वघोषित अघोरी हुन्छन्।

कसलाई पूजा गर्छन् अघोरीहरू ?
अघोरीहरू सामान्यतया हिन्दू देउता शिवको पूजा गर्छन्, जसलाई संहारको देउता पनि भनिन्छ। उत्तर भारतमा महिलाहरू मात्रै अघोरी सम्प्रदायको सदस्य बन्न सक्छन्। तर बंगालमा महिलाहरूलाई मसानघाटमा देख्न सकिन्छ। उनीहरूले चाहिँ लुगा लगाएका हुन्छन्।

ठक्कर भन्छन्, ‘अधिकांश मानिसहरू मृत्युदेखि डराउँछन्। मसानघाटलाई मृत्युको प्रतीकका रूपमा लिइन्छ। तर अघोरीहरूको शुरूवात यहीबाट शुरू हुन्छ। उनीहरू आममानिसका मूल्य-मान्यता र नैतिकतालाई चुनौती दिन चाहन्छन्।’

कमेन्ट गर्नुहोस्

error: Content is protected !!