बढ्यो सुत्केरी भत्ता, अब साबिकभन्दा ४५ सय थप

बाग्लुङ, पुस ३० । बागलुङको गलकोट नगरपालिकाले गर्भवती महिलाले स्वास्थ्य संस्थामा नियमित जाँच गराएबापत प्रदान गरिने प्रोत्साहन भत्तामा ४५ सय थप्ने भएको छ । नगरपालिकाले नेपाल सरकारले उपलब्ध गराउने नियमित भत्तामा यो रकम थपिदिने भएको हो ।

नगरपालिकाले गर्भवतीको नियमित जाँच र मातृशिशु सुरक्षाका लागि प्रोत्साहित गर्न थप रकम गरेको जनाएको छ । नगरप्रमुख भरत शर्मा गैरेका अनुसार यो रकम पाउनका लागि गर्भवतीले नियमित स्वास्थ्य जाँच गराउनुपर्ने हुन्छ । नगरभित्रका प्रत्येक गर्भवतीलाई गर्भ रहेको समयदेखि चारपटक जाँच गरी सुत्केरी हुने बेलासम्म ४५ सय भत्ता दिने व्यवस्था मिलाएको नगरपालिकाले जनाएको छ ।

गर्भावस्थामा आवश्यक पर्ने पोषण पूर्ति गर्न सहयोग पुगोस् भनेर थप भत्ताको व्यवस्था गरेको नगरपालिकाले जनाएको छ । ‘नगरप्रमुख मातृशिशु पोषण कार्यक्रम’मार्फत भत्ता दिन सुरु गरेको नगरप्रमुख गैरेले बताए ।

रेफर गर्नुपरे छुट्टै यातायात खर्चको व्यवस्था

पाण्डवखानी र काँडेबास स्वास्थ्य चौकीमा गर्भ जाँचका लागि आउने गर्भवतीलाई स्वास्थ्य संस्थामार्फत भत्ता दिने व्यवस्था मिलाइएको नगरउपप्रमुख रेणुका काउचाले बताइन् । नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने महिलाले मात्रै भत्ता पाउने नगरपालिकाको भनाइ छ । त्यस्तै नगरभित्रका स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसक्ने अवस्थामा बाहिरका सुविधा सम्पन्न अस्पतालमा पठाउनुपरे नगरपालिकाले रेफर भत्ताको समेत व्यवस्था गरेको छ ।

नगरपालिकाले यातायात खर्चको व्यवस्था गर्ने काउचाले बताइन् । रेफर भएर जानुपर्ने गर्भवतीका लागि एम्बुलेन्स खर्चबापत तीन हजार रुपैयाँ सहयोग गर्ने नगरपालिकाले निर्णय रहेको छ । त्यसका लागि सम्बन्धित स्वास्थ्य संस्थाले रेफर गरेको आवश्यक कागज, एम्बुलेन्स अथवा गाडीको बिल आवश्यक पर्नेछ ।

भत्ता रकम सुत्केरी भएपश्चात् मात्रै

हटिया स्वास्थ्य चौकीका प्रमुख दिलुप्रसाद सुवेदीका अनुसार सुत्केरी भएपश्चात् मासिक ५ सयका दरले नौ महिनाको ४५ सय रुपैयाँ एकमुष्ठ हस्तान्तरण गरिनेछ । सुवेदीले भने, ‘यो निर्णय भएसँगै स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गर्ने र सुरक्षित सुत्केरीसेवा लिने बढेका छन् ।’

नगरपालिकाले दिएको रकमबाट आमा र बच्चाका लागि पोसिलो खाना व्यवस्थापनका लागि सहज भएको गलकोट नगरपालिका– ३ हटियाकी सिर्जना बोहोराले बताइन् । गर्भवतीका लागि यो रकमले निकै राहत मिलेको बोहोराले बताइन् । उनले भनिन्, ‘माछामासु र अन्य पोसिलो खानेकुराका लागि भत्ताको रकमले सहज बनाएको छ ।’
नयाँ पत्रिका

कमेन्ट गर्नुहोस्