वडाध्यक्षका छोराद्वारा ‘हेड मास्टर’ कुटिए, पठनपाठन प्रभावित

गोरखा, पुष ३० । जिल्लाको भिमसेन गाउँपालिका स्थित विन्द्रावती माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई वडाध्यक्षका छोराले हातपात गरेको विरोधमा पालिका भित्रका विद्यालय बन्द गरिएको छ ।

प्रधानाध्यापक उत्तर नारायण श्रेष्ठलाई वडाध्यक्ष बद्रिनारायण श्रेष्ठका छोरा शिव कुमार श्रेष्ठले आईतबार हातपात गरेका थिए । घटनाको विरोधमा पालिका भित्रका सबै ४२ वटै विद्यालय बन्द गरिएको प्रअ श्रेष्ठले बताए ।

‘दोस्रो घण्टि पढाएर कक्षाबाट निस्कदैं थिएँ अकस्मात मेरो जग्गामा बनेको विद्यालय भवन हटाईदे भन्दै हातपात गरे, प्रधानाध्यापक श्रेष्ठले भने, ‘विद्यालय बनेको जग्गा तपाईकै बाबुले दान गर्नु भएको हो, बनिसकेको भवन मैले कसरी हटाउने ? तपाईको कुरा व्यवस्थापन समितिमा राख्छु मात्रै के भनेको थिएँ, तैंले मलाई कानून सिकाउने भन्दै धकेलेर लडाईदिए ।’

व्यवस्थापन समितिका अध्यक्ष उनै शिवका बाबु बद्रि हुन् । उनी अध्यक्ष हुनु अघि शिव नै अध्यक्ष थिए । अहिले उनी समितिका सदस्य छन् । विद्यालयमै आएर हातपात गरेपछि सुरक्षाको माग सहित प्रअ श्रेष्ठले गरेको उजुरीका आधारमा शिव कुमार श्रेष्ठलाई प्रहरीले पक्रेको छ ।

उक्त घटनाको विरोधमा शिक्षक महासंघको आह्वानमा जिल्ला भरिका विद्यालयका शिक्षकहरुले कालोपट्टी बाँधेर पठन पाठन गर्न शुरु गरेको प्रअ श्रेष्ठले बताए ।

प्रअ श्रेष्ठ तत्कालिन माओवादी निकट शिक्षक संगठनका अध्यक्ष हुन् भने वडाध्यक्ष श्रेष्ठ काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । यो घटनामा पनि राजनीतिक गन्ध मिसिएको हुन सक्ने स्थानीय अभिभावकले अड्कल काटेका छन् । edukhabarबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!