के कुरा भयो सभामुख महारा र चिनियाँ राजदूतबीच ?

काठमाडौं, पुस ३० । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित चीनका नवनियुक्त राजदूत हाउ याङछीले शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार (आज) सभामुखको कार्यकक्ष सिंहदरबार पुगेर राजदूत याङछीले सभामुख महरासँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा चिनियाँ पिपुल्स कंग्रेसका सभामुखले अंग्रेजी नयाँ वर्षको अवसरमा पठाउनुभएको शुभकामना सन्देश राजदूत याङछीले सभामुखलाई हस्तान्तरण गरे ।
सो अवसरमा सभामुख महराले नेपाल–चीन सम्बन्ध निकै प्रगाढ र घनिष्ट रहेको बताए । दुई देशबीच कूटनीतिक र राजनैतिक सम्बन्धका साथसाथै दुई देशका जनताबीच पनि घनिष्ट सम्बन्ध रहेको बताए ।

‘नेपाल र चीनबीच कूटनीतिक र राजनीतिक सम्बन्ध प्रगाढ त छँदैछ, सभामुख महराले भने, ‘दुई देशका जनताबीचको सम्बन्ध पनि निकै घनिष्ट रहेको छ, जसले दुई देशबीचको सम्बन्धलाई थप मजबुत र बलियो बनाएको छ ।’

नयाँ चिनियाँ राजदूतको रुपमा नेपाल आएकी याङ्छीलाई स्वागत व्यक्त गर्दै सभामुख महराले कार्यकाल सफल हुने र दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरे ।

चीनले नेपालको जलविद्युत, पर्यटन, सडकलगायतका थुप्रै क्षेत्रमा सहयोग गरिरहेको बताउँदै सभामुख महराले आगामी दिनहरुमा पनि चीनको सहयोग विस्तार हुनेमा विश्वास व्यक्त गरे ।

चीनले शुरु गरेको बेल्ट एण्ड रोड परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने भन्दै सभामुख महराले उक्त परियोजनामा नेपालका तर्फबाट आफू अर्थमन्त्री हुँदा सहमतिमा हस्ताक्षर गरेको स्मरण गरे ।

चीनको सहयोगले नेपाल–चीन रेल सेवा चाँडै सम्पन्न हुनेमा आफूहरु विश्वास रहेको भन्दै सभामुख महराले केरुङ–रसुवागढी–काठमाडौं रेलमार्ग चाँडै बन्नेमा विश्वस्त रहेको बताए ।

सभामुखसँगको भेटमा नेपालका लागि चीनका राजदूत याङछीले चीन र नेपालको सम्बन्ध अत्यन्त नजिकको रहेको बताए । उनले आफ्नो कार्यकालमा चीन–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन एवं नेपालको विकास र समृद्धिका लागि आफू लागिपर्ने बताए ।

राजदूत याङ्छीले वेल्ट एण्ड रोड परियोजनामा नेपाल महत्वपूर्ण साझेदार मुलुक भएको भन्दै नेपालले पनि उक्त परियोजनाबाट महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्