यत्ति भए म नेपाल फर्कन्छु !

निश्चल दाहाल ।तपाईं बिदेशमा बस्नु हुन्छ । नेपालमा जनताद्वारा अनुमोदित दुई तिहाई बहुमत प्राप्त बलियो सरकार छ । सरकार बनेको बर्ष दिन पुग्न लाग्यो । सरकारले समृद्दीको नारा बोकेको छ । के तपाईं नेपाल फर्कन तयार हुनुहुन्छ ? आउनुस् छलफल गरौँ ।  एउटा प्रसँगबाट शुरु गरौँ ।

“२०५२ साल देखि कै सक्रिय कार्यकर्ता हो नि म । सुप्रिम कमाण्डरलाई म नजिकबाट चिन्छु, जुरुक जुरुक हुने भाषण गर्नु हुन्थ्यो।” हातमा रहेको तातो चियाको एक चुस्की वहाँले लिनु भयो ।

५ जना गोलबद्द भएर बरदुबइको एक चिया पसलमा हामी बसेका थियौं । नेपाली परिप्रेक्षको फरक राजनीतिक आस्था बोकेका हामी भेला भएका थियौं । तर बिदेशमा कुनै अमुक पार्टीको कार्यकर्ता भन्दा पनि आम नेपाली भनेर चिनिन आवश्यक छ भनेर समान बुझाई थियो हामीमा ।

“म पनि हरेक निर्वाचनमा घर जान्छु, जे जति सक्छु आर्थिक सहयोग देखि लिएर मेरो ब्यक्तिगत समय समेत लोभ नगरी खर्च गर्छु । चार तारे झण्डा बोकेर दिन रात भोक प्यास नभनी गाउँ गाउँ धेरै दौडिएको छु ।

एक पटक हारियो, एक पटक जितियो तर अनुभव र अनुभुतिले मेरो आँखा खुलायो”, हातमा लिएको चुरोटको एक सर्को तान्दै धुवाँ बायुमण्डलमा बिलिन भएको नियाली रहेँ । मेरा मनका कुरा पनि यसरी नै हावामा बिलिन भए ।

“यार, राजनिती यहाँ पनि चोटिलो लागेको छ है ! कोही प्रवासी (एमाले) कोही जनसम्पर्क (काङ्ग्रेस) कोहि जन प्रगतिशिल (माओवादी) । नेपालमा बरु मिलेका होलान, यहाँ खैरो खनेर बसेका छन ।” एक साथीले उदेक लाग्दो तरिकाले पीडा पोख्नु भयो । हामी भेला भएकाहरु कम्तिमा ८ बर्ष देखि बढिमा १५ बर्ष सम्म यहीँ युएइको बालुवामा समय बिताएकाहरु थियौं । कसैले स्नातक त कसैले स्नातकोत्तर सम्मका अध्ययन गरेका थियौं । हामी सबै सामान्य कामदार भएर आएका यहाँ अहिले कोही अझै पनि कुनै कम्पनिमा काम गर्दैछौ त कोही आफ्नै ब्यवसाय सन्चालन गरेर बसेका छौं ।

हामी बिचमा हामीले पाएको राजनितिक ज्ञान सैद्धान्तिक रुपले भिन्न त छ तर घर परिवारसँग छुट्टिनुको पीडा हामी भित्र समानता रहेको छ । हामी सबै जना नेपाल गएर सुरक्षीत तवरले लगानी गर्न सकौ, काम गर्न सकौ, स्थिरता र स्थायित्वको महसुस गर्न सकौ भन्ने कुरामा सहमत छौ । उमेरले ३२ देखि ४० सम्मका हामीले जिवनको उर्जाशिल समयमा केही कमाई गरौ भनेर यहाँ भासिएका थियौं । कसैको पनि अतिरञ्जित गरे किसिमको रहर थिएन, बरु बाध्यता जरुर थियो ।

माओबादी द्वन्दकालमा देश दुई खेमामा बाँडिएको थियो । लगत्तै भएको जन आन्दोलनमा पनि । तुरुन्त फेरि मधेस आन्दोलनले देशका जनता लाई तीन खेमामा बिभाजित गरिदियो । गलत राजनितिक संस्कारको कारण सामाजिक बिखण्डन र भाइभाइको दुश्मनी बढ्दो अनुपातमा उक्लदै थियो । कोही शिक्षक , कोही एनजिओका अफिसर, कोही ब्यवसायी कुनै न कुनै कोणबाट या त आन्दोलनरत या त सरकारी पक्षबाट पेलिएका हामी आफ्नो भविश्य खोज्दै यता तिर उडेका थियौ ।

५२ साल देखिको राजनितिक बिकासक्रम हामी सबैले नेपालमा रहेर होस या बिदेशमा होस्, गहिरिएर बुझेका छौ ।अहिले त झन सुचनाको जगतमा आएको क्रान्तिले तील खसेको खबर समेत सेकेन्ड भरमै सुन्न पाइन्छ ।

स्कुल कलेजमा पठाइएका बच्चा जसले हाम्रो जस्तो जिवन जिउन नपरोस भनी हामी मेहनत गर्छौ उनिहरु भने अहिले पनि, आजको दिन पनि आन्दोलन, बिरोध र बन्दको चाडमा मस्त छन ।

१६ बर्षको एक युवा ओठमा जुँघाको रेखी भर्खर लाग्दै गरेको अवस्थामा ठगिएर १८ बर्ष बनाइ पासपोर्ट तयार गरेर बिदेश तिर हुइकिन थालेको छ । देसले यो पछिल्लो २३।२४ बर्षमा धेरै परिवर्तनको अनुभव त गर्यो तर सकारात्मक परिवर्तनको आशा यत्तिकै उड्दै गयो । बायुमण्डलमा चुरोट्को धुवा बिलिन भए झै बिलिन हुनको लागि । मेरो दिमागमा यही घुमिरहयो ।

कहिले सम्म बस्ने त यो यूएईमा ? नेपाल फर्केर केही गरौ भनेर आव्हान हुन थालेको छ, जनतामै उर्जा पैदा भएको छ, तर के हामी नेपाल फर्कन तयार छौ ?

दुई तिहाइको सुन्दर माला भिरेको सरकारले केही निर्णय गर्छ, त्यसको  बिरोधमा प्रतिपक्षी फेरि आन्दोलनमा हाम फाल्छ । प्रतिपक्षीले केही माग राख्छ त्यसको बिरोधमा दुई तिहाइवाला कडा रुपले प्रस्तुत हुन्छ ।

हुन त हामी दाजुभाइ दिदीबहिनी नै हौ तर सम्बन्धित पार्टीको झण्डाले मुख बेरेर आफन्तलाई नै काट्ने हामी त्यही नेपाली नै हौ । हामी आफै हौ सम्बन्धित पार्टीको कार्यकर्ता भएर भविष्य नहेरी अन्धो भएर बिकराल अवस्थालाई निम्त्याउने । हामी र हाम्रा भाइबहिना, छोराछोरी नै हुन सम्बन्धित कुनै पार्टीको नामबाट परिचित हुन चाहने र अर्को पार्टीकोलाई ब्यक्तिगत दुश्मनी साँध्ने । अनि यहि अवस्थामा हामी फेरि फर्कने हो त ? यसैको निरन्तरताको लागि हामी मुलुक जाने हो त ?

कमसेकम हामीले यहाँ बसेर पैसा पठाइरहदा ती आन्दोलनकारी, ती सरकारका पहरेदारहरु भोकै त बस्न परेको छैन । ढुङ्गा हान्ने र बन्दुक पड्काउने तागतको लागि खाना त खादै छन । शरीरमा शक्ति सञ्चय गर्न ओत लाग्ने घर त हामीले बनाइदिएका छौ । त्यो भन्दा बढी के नै गरेछौ र ?

हामी फर्किएर गयौ भने त देशमा भोकमरी पो लाग्छ त हैन र ? हामीले आफ्नो जिम्मेवारी निभाइ रहेका छौ, सिकेका सीप बाँडीरहेका छौ । हामीले त बलिदानी दियौ, कसैले जनयुद्धमा परिवार गुमायौ त कसैले जनआन्दोलनमा । कसैले गोलीको खोपिल्टो लिएर बिदेश छिर्यौ त कसैले भाटा लाठिको डाम ।

हामीले त्याग गरेका छौ । पत्यार नलागे तथ्यांक आफै संकलन गर्दा हुन्छ । बिदेशिने अनुपात हेर्दा लाचार भएर, परिस्थितिसँग हारेर, राजनितिक कुरितीले सृजना गरेको प्रतिकुल अवस्थाहरु सामना गर्न नसकेर भासिनेको संख्या मनग्य छ । अझ खाडी, मलेसियामा त अत्याधिक बहुमत नै ।

आफन्त हुँदा पनि पराई, घर रहदा रहदै बेघर र देश जिवन्त रहदा नै परदेशको भएर बस्नु परेको तितो यथार्थ कसरी पचाउँदै हौँला त हामीले ? कसैलाई चिन्ता छैन यहाँ।

‘फर्केर आए भयो त’ भन्नु होला । हामी परदेशमा रहेर देशको अहितमा कुनै कार्य गरेको छैन । देश बनाउने समयमा भागेको पनि हैन तर परिस्थितिको दास भएको हो। हामी सबै फर्की आउँदा अरु ४० लाख नेपालीको बेरोजगारी राज्यले धान्ला त ? परदेशमा रहेर पनि घरदेशको मायामा यति डुबेको छौ हामी कि हामीसँग मनग्य समय छ देशको अवस्थाको बारेमा चिन्तन गर्ने ।

विभिन्न परिवर्तन पछि देशले काचुले फेर्ला, कमसेकम उदाउँदो पिढी त साक्षर र सबल भएर निस्कला भन्ने हाम्रो ठूलो अपेक्षा थियो । यही आशा राखेर हामी यहाँ मेहनत गर्दैछौ । तर अवस्था हेरौ त, आज विद्यार्थी आन्दोलन, भोलि युवा खबरदारी, पर्सि सडक जाम, ढुङ्गा मुडा आदि । यो अवस्थाबाट गुज्रिने पिढीले कस्तो देश बनाउला ? यसको जिम्मा कसले लिने ?

१४।१५ बर्षको उमेरमा भविस्य ‘करियर’ चुन्न लगाउने समयमा हामी राजनीतिक दल चुन्न लगाउदैछौ । किताबको साथ राख्ने समयमा झण्डा बोकाउदैछौ । कलम दिने समयमा ढुङ्गा र मसाल दिदैछौ ? हामी सुन्दर भविस्य हैन कहाली लाग्दो भोलि निम्त्याउदैछौ । हामी समृद्धि हैन बर्बादी तिर लम्कदैछौ।

हामी बिदेशीएकाहरु फर्कन चाहान्छौ । आमाको फरियाले आसु पुछन चाहान्छौ । बाबाको पसिनाले भिजेको पाखुरिमा अङ्गालिन चाहान्छौ। श्रीमतीको झुकेको नजरमा माया हेर्न चाहान्छौ । छोरा छोरीको आँखामा बाबाको माया हेर्न चाहान्छौ । गाउँको दिदिको चिया पसलमा बिहानी भेला भएर दिनको भलाकुसारी गर्न चाहान्छौ । हामी बनाउन चाहान्छौ । हामी अवसर ल्याउन चाहान्छौ । हामी तयार छौ समृद्धिको मार्गमा समाजलाइ लिएर हिड्न।बस हामीलाई स्थायित्वको अनुभूति गराइयोस । बस हाम्रा बढ्दै गरेको पिढीलाई पछि नधकेलियोस ।

समृद्धिको जग बसाइयोस । त्यो जग रुपि हाम्रा बालबालिकाले फेरि सर्टिफिकेट भन्दा पासपोर्ट महत्त्वपूर्ण हो भनेर बुझ्न नपरोस । हामी भविश्य सोचेर आएका हौ । सुन्दर भविष्यको हाम्रो परिकल्पनामा पानी नखन्याइयोस। आज हामी यहाँ बसेर रोए झै आउने पिढिले रुन नपरोस । राजनीतिको कुरा गर्ने हाम्रा सन्ततीले अब समृद्धिकै कुरा गर्न सिकुन । अनी मेरो लगानीको सुरक्षा ।

अरु धेरै चाहिएन, यत्ति  भए म नेपाल फर्कन्छु । तपाईं नि ?

कमेन्ट गर्नुहोस्