कथा: सन्तेकाे राताे कुकुर

सन्ते ११ पुगेर १२मा भर्खर टेकेको छ। बिहान झिसमिसेमै उठेर पुतपुती दौडिन्छ। खै कताबाट हो उसले सुसेली हाल्न, गीत गाउन, नाच्न पनि जानेको छ। ऊ बढो रमाइलो र हँसिलो पनि छ। हिड्दा-हिड्दै नाचिदिन्छ, कुरा गर्दागर्दै गाइदिन्छ। यो उमेरै उसको यस्तै हो। धेरै धेरै कुराहरू सिक्ने, जान्ने र नक्कल गर्ने समय हो यो उसको। त्यही उमेरका कारणले आजभोलि उसले उसको स्वभाव देखाउन थालेको छ। गाउँभरीका केटाकेटी जम्मागरेर पुत्ला बनाएर नारालगाउदै मूर्दावाद र जिन्दावाद भन्दै हिड्छ ऊ। कहिले झुम्राहरू जुत्ताको मोजामा भरेर गोलोबनाएर भलिवल खेल्छ। कहिले बारीको डिलमा टिन ठटाएर नाचेर गाएर बाँदर धपाउँछ।


पछि गएर कस्तो निक्लने होला यो सन्ते देख्ने जान्नेहरू पनि छक्कै पर्छन् उसको स्वाभाव देखेर। हरेक प्रश्नको उसलाई उत्तर चाहिन्छ। उसले देखेका आश्र्चयहरुको उसले सही जवाफ खोजिरहन्छ।

एक दिन उसले यो बादल किन कालो त कहिले सेतो किन हुन्छ बाबा भनेर सोध्यो। म दुईचार क्लास पढेर गाईबाख्राको पुच्छर समातेर हिडेको मान्छेले के जान्नु, “कानो गोरुलाई औंशी न पूर्णिमा” म विलखबन्दमा परिहालें।

एक दिन त उसले चन्द्रमामा विजुली नचाहिने हाम्रोमा चाहिने, चन्द्रमा जस्तै यहाँ उज्यालो किन नभाको होला भनेर सोध्यो बा, आजभोलि उसले प्रश्नै प्रश्नहरुको वर्षानै गर्न थालेको छ।

यो समयमा उसलाई असल शिक्षित अभिभावक, कुशल शिक्षक र वेष्ट साथीको खाँचो छ। किनभने “संगत गुनाको फल” भने जस्तै सप्रिनेकी विग्रिने भन्ने दोसाँधमा छ ऊ। ऊ एउटा काँचो माटो हो। उसको दिमागमा जुन चिज भऱ्यो त्यही दिगो बन्न पुग्छ त्यस बालामनमा। जाँड, रक्सी खानु हुन्न, धुम्रपान गर्नु हुँदैन किनभने यी सबै हाम्रो स्वास्थ्यको लागि हानिकारक छन्। अपशब्दहरू बोल्नु हुँदैन, असल बानी व्यवहार सिक्नु पर्छ भनेर सिकाउने अराउने समय, साथी र समाज चाहिएको छ उसलाई।

चरा चाखुराका बचेरा, कुकुर बिरालोका छाउरा भनेपछि हिरिक्कै हुन्छ सन्ते। बचेरा र छाउराहरुलाई अतिनै माया र हेरविचार गर्छ। हिजै उसले रातो कुकुरको छाउरो खै कहाँबाट ल्याएको छ घरमा। कचकच र किचकिच थियो त केवल हिजोसम्म उही सन्तेको मात्र थियो घरमा तर आजबाट भने रातो कुकुरको छाउराको आवाज पनि थपिएको छ। त्यही कुकुरको स्याहार सम्भार खानपान र उसको कुरीको व्यवस्थापन तथा पढाइलेखाई अहिले सन्तेको दिनचर्या भएको छ। बाबा आमा भाइ बहिनाभन्दा प्यारो लाग्छ उसलाई त्यो छाउरो। साँच्चै कति राम्रा र मायालु हुन्छन सानोछँदा कुकुर बिरालोका छाउराहरू। उनीहरुसँग खेल्नु, उफ्रनु, कुद्नु लुकामारी खेल्नु जस्तो आनन्द जीवनमा अरु के नै हुनसक्छ जस्तो पनि लाग्छ कता कता एकपटक।

हो त्यही आनन्दमा व्यस्त छ सन्ते आजकल।

लाग्छ सन्तेको शरिरको कुनै अंग नै हो त्यो छाउरो, छाउरोलाई दुख्दा सन्तेलाई पनि दुख्छ, छाउरो रुँदा सन्तेपनि रुन्छ। उनीहरुलेसँगै खान्छन,सँगै खेल्छन रसँगै रमाउछन्। कसैले छाउरोलाई छोयो कि सन्ते जाइलागिहाल्छ। म उनीहरुको घनिष्टताको व्याख्या गर्नै सक्दिन किनभने मैले कसरी वर्णन गरुँ त्यहाँ कुनै शब्द नै भेटाउँदिन। समय वित्दै गयो छाउरो पनि ठूलो हुँदै गयो। सन्तेको पनि बुद्धि पस्दै छ।

अहिले छाउराको नाम पनि राखेको छ सन्तेले “बिजुली”। नाम अनुसारको काम छ बिजुलीको। बाँदर देख्नै हुँदैन बिजुलीको गतिमा उड्छ छाउरो। शत्रुको पत्तासाफ गर्नु बिजुलीको विशेषता हो। कति जाद्रो छ छाउरो भनेपछि नयाँ मान्छे, झुत्रेझाम्टे देख्नै हुँदैन झ्याप्पै जान्छ टोक्न। गलत कुराको सुँइको उसले सुँगेरै पत्तालगाउँछ। उडेको चरो पनि छोप्ला जस्तो गतिवान छ बिजुली। रातभरि पिंढीको डिलमा हुन्छ डिउटी उसको, भुकेर रातभरि घर समाजको सेवा गर्छ बिजुलीले। लाग्छ बिजुलीले पनि यो समाजको सेवा, परिवर्तन र उन्नति चाहेको होला। समाजमा सान्ती सुव्यवस्था कायम गर्ने उसको कर्तव्य वा सपना होला। बीजुलीको काम देखेर घर समाज र सन्ते निकै हर्षित छन्।

बिजुलीको बानी व्यवहारमा आएको नाटकीय परिवर्तनले घरपरिवार,समाज र सन्ते अचम्मित भएका छन्।

बिजुलीको काम अनुसारको सेवादिन सन्तेले एउटा छुट्टै कुरी बनाएको छ। खानापानी ओड्ने ओछ्याउने सबै कुरिमै तयार पार्छ सन्तेले बिजुलीको लागि। बिहान दिसापिसाव, मर्निङवाक लगाएतका आवश्यक सबै सुविधा दिलाउँछ सन्तेले। हिजो अस्ति पिंढीको डिलमा बसेर घर र गाउँको सेवा गर्ने बीजुली आजभोलि कुरीभित्र बस्छ, फर्कि फर्कि सुत्छ, ज्यान तनक्क तन्काउछ। कुनै आवाज सुन्यो भने कुरीबाटै नुर्कन्छ बिजुली। बारीमा बाँदर आएर चेचे भन्यो भने कुरीभित्रै उता घुसारिन्छ बाहिर निक्लनै मान्दैन।

बिजुलीको बानी व्यवहारमा आएको नाटकीय परिवर्तनले घरपरिवार,समाज र सन्ते अचम्मित भएका छन्। आवश्यकभन्दा बढी सुविधाले मानव मात्र होइन पशुमालाई पनि आलस्यता र विलासितामय बनाउँछ भन्ने कुरा बिजुलीले देखाइरहेको छ। उसको व्यवहारले आक्रान्त भएको सन्तेले केही हप्कीदप्की गर्न थालेको छ त्यो व्यवहार बिजुलीले बुझिसकेको छ। अब सन्तेबाट दानपानी र सेवासुविधा मिल्दैन भन्नेकुरा बिजुलीले जानीसकेको छ।

आजभोलि ऊ जस्ले दानपानी दिन्छ उसैसँग लाडिन्छ, खेल्छ, सन्तेलाई देख्यो कि नुर्कने टोक्ला जस्तो गर्ने स्वभाव देखाउँछ। बढो अचम्मै छ दानापानी र सेवासुविधाले पशुलाई पनि छोएको हुँदोरहेछ ।

–देवेन्द्र बस्याल/मझेरी डटकमबाट

कमेन्ट गर्नुहोस्