कुवेतमा हृदयघातका कारण एक नेपालीको मृत्यु

कुवेत,माघ २६। रोजगारीका लागि कुवेत पुगेका मोरङ बरघर्छी चादनीचोकका ४७ बर्षिय निर बहादुर कार्कीको हृदयघातको कारण मृत्‍यु भएको छ।

केही दिन देखी सामान्य बिरामी भएर औषधी सेबन गरिरहेका कार्कीको फेब्रोवरी ४ तारिक, सोमबार बिहान ११:३० बजे कम्पनीकै आबास गृह कुवेतको महाबुल्लामा मृत्‍यु भएको उनका सहकर्मीले जानकारी दिएका छन्।

कुवेतको अल टु वाक क्लिनिङ कम्पनीमा कार्यरत कार्कीको कान्छी बहिनी मुना कार्कीका अनुसार दाइ बिरामी भएको भन्ने बारे पनि कुनै जानकारी नभएको तर दाइका साथीहरुले केही दिन देखी सामान्य बिरामी रहेको बताए पनि उनलाई आफ्नै ओछ्यानमा अन्तिम अवस्थामा फेला पारेर अस्पातल पुर्याउदा डाक्टरले हृदयघातको कारण मृत्‍यु भैसकेको बताएका थिए।

२ छोरा र १ छोरी जेठो दाजुको संरक्षणमा रहेको मृतक कार्कीको श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत रहेकी छिन। मृतककी श्रिमती पनि दुई महिना अघी मात्र आवासमा लडेर खुट्टा भाँच्चिएको र खुट्टामा स्टिल हालिएकोले राम्रोसंग हिडन नसक्ने अवस्थामा छिन।

मृतक कार्कीको शब नेपाल पठाउन नेपाली दुताबासको सहयोगमा प्रकृया अन्तिम चरणमा पुगे पनी अझै दिन लाग्ने दूतावास स्रोतले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्