याे हाे नेपालकाे एकमात्र जीवित कम्यून

बर्दिवास : कोही तरकारी काटिरहेका छन्। एकथरी भाँडा माझिरहेका छन्। चामलको जोहो गर्ने र सामान यताउति गर्नेहरूको चहलपहल छ। सानोतिनो भीड नै देखिन्छ। झट्ट हेर्दा लाग्छ, कुनै बिहेकार्जे वा सामाजिक कर्मको चाँजो हुँदैछ।

तर न यो बिहेकार्जे हो, न कुनै भोजभतेरको तयारी। महोत्तरीको बर्दिबास गौरिडाँडास्थित आधारशिला कम्युनमा हरेक बिहानबेलुका देखिने दृश्य हो यो।

कम्युनिस्टहरूले लामो समयदेखि समाज र जीवन बदल्ने सपना देख्दै-देखाउँदै आएका छन्। यही विचारसँग सहमत १३ परिवार आधारशिलामा सामूहिक बसोबास गर्छन्। यसको स्थापना २०५९ सालमा गरिएको थियो।

आधारशिला पुग्ने जोसुकैले महसुस गर्न सक्छ, यहाँको जीवन अन्यत्रभन्दा फरक छ। सामूहिक जीवनशैली छ। फरकफरक जातका मानिस एकै ठाउँ बस्छन्। उनीहरूको व्यक्तिगत सम्पत्ति छैन। कामको बाँडफाँड गरिएको छ। सदस्यले विभिन्न उत्पादनमूलक काम गर्छन् र कम्युनको खर्च धान्छन्।

तत्कालीन एकता केन्द्र मसालको राजनीतिक कार्यदिशाअनुसार यो कम्युन सुरु गरिएको थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले यो अभियानको नेतृत्व गरेका थिए।

१३ वटै परिवारका सदस्यको गाँस, बास र कपासको आधार भएकाले कम्युनलाई आधारशिला नाम दिइएको छ। आधारशिलाका संस्थापक पोखरेलका अनुसार यहाँ बस्न आउनेले सुरुमै आफूसँग भएको सबै पैत्रिक सम्पत्ति अभियानलाई बुझाएका छन्। ‘हामीसँग कुनै बेला ४८ जनासम्म सदस्य थिए,’ पोखरेलले भने, ‘अहिले कुनै परिवारका सदस्य हुर्केर उच्च शिक्षाका लागि स्वदेश तथा विदेशका अन्य ठाउँमा गएकाले संख्या घटेको छ।’

सुरुमा कम्युनिस्ट दर्शनबाट प्रभावित भएर सिरहाको गोलबजारमा १८ जना बालबालिका जम्मा गरेर कम्युनको सुरुवात गरिएको थियो। तर बालबालिकाको पढाइ र लवाइ-खवाइको व्यवस्थाले मात्र कम्युनको मर्म पूरा नहुने नदेखिएको पोखरेल बताउँछन्। त्यसपछि एकैपटक १३ परिवारका सदस्यलाई भेला गरेर महोत्तरीको बर्दिबासमा सामूहिक बसोबासको सुरु गरियो।

दैनिक खर्च चलाउन आधारशिलाका सदस्यले विभिन्न व्यवसाय चलाइरहेका छन्। भाडामा जग्गा लिएर सामूहिक खेती गरेका छन्। जनमुखी स्वास्थ्य विकास सहकारी संस्था चलाएका छन्। महोत्तरीमै दर्पण एफएम सञ्चालनमा छ। ‘रुचि मसला उद्योग पनि थियो। सिराहामै कम्प्युटर पसल पनि चलाएका थियौं। तर यी व्यवसाय नाकाबन्दीपछि बन्द भयो,’ पोखरेलले भने।

कम्युनमा बस्ने मामिलामा कम्युनिस्ट विचारधारासँग सहमत व्यक्तिलाई प्राथमिकता दिइन्छ। सहिद परिवारका सदस्यलाई कुनै रोकटोक छैन। हरेक परिवारलाई एक-एक वटा कोठा दिइएको छ। थारु, यादव, महतो, तामाङ, बाहुन, क्षेत्री लगायतका जाति र समूदायका मानिस यहाँ छन्।

‘यहाँका सबैले सादा जीवन बिताउँछन्। तडकभडक हुँदैन। सबैथोक आधारशिला नै हो भन्ने ठान्छन्। म पनि यसमै रमाइरहेकी छु,’ आधरशिलाकी पुरानो सदस्य पुष्पलता कोइरालाले भनिन्।

आधारशिलाका संरक्षक तथा नेकपाका प्रवक्ता नारायणकाजी       श्रेष्ठले यस्तै सामूहिक बसोबासको मोडललाई अन्य ठाउँमा पनि विस्तार गर्नुपर्ने बताए। ‘यसलाई पार्टीको एजेन्डा बनाउनुपर्ने हो। तर नेकपाकै सात लाख सदस्य जिम्मेवारीविहीन रहेको अवस्थामा अभियानको कुरा गर्न अलि कठिन भएको छ,’       श्रेष्ठले भने।

सशस्त्र युद्धका क्रममा माओवादीले रुकुम, रोल्पालगायत आफ्नो पकड बलियो रहेको ठाउँमा यस्तै कम्युन चलाएको थियो। तर ती अहिले निष्क्रिय छन्।

अन्नपूर्ण पाेष्ट दैनिकमा सूर्यप्रसाद पाण्डे/  राजकरण महतोकाे समाचार साभार

कमेन्ट गर्नुहोस्