स्वर्ण महोत्सव शुरु

भद्रपुर, माघ २७ । श्री कृष्णप्रणामी मन्दिर धुलावारीको स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा आयोजित वृहत धार्मिक स्वर्ण महोत्सव शनिबारदेखि यहाँ शुरु भएको छ ।

पचास वर्षअघि श्री १०८ मङ्गलदासले झापा आएर धुलावारी, चन्द्रगढी, बुधबारे र शनिश्चरेमा चार मन्दिर स्थापना गरेका थिए । श्री कृष्णप्रणामी धर्मावलम्बीले अपार श्रद्धा गर्ने मंगलदास महाराज झापा आएको र मन्दिर स्थापना भएको ५० वर्ष पुगेको अवसरमा धुलाबारीको मन्दिरले स्वर्ण महोत्सव मनाएको हो ।

उद्घाटन समारोह शुरु हुनुअघि धुलाबारी बजारमा रथ परिक्रममासहित शोभायात्रा गरिएको थियो । प्रणामी धर्मबाहेक अन्य धर्मावलम्बीसमेत शोभायात्रामा आ–आफ्ना ब्यानरसहित उपस्थित भएका थिए।

श्री कृष्णप्रणामी धर्मको सर्वोत्तम ग्रन्थ तारतम्सागर पारायणको प्रारम्भ गर्दै बौद्धिक धर्मगुरु एवं मङ्गलधाम कालिम्पोङका प्रमुख श्री १०८ मोहन प्रियाचार्यले जीवनलाई सकारात्मक सोचतिर डोर्याउन धर्मको जरुरत हुने चर्चा गरे । सभामा आशीर्वचन दिँदै करनाल भारतका श्री १०८ जगतराजले हिंसा र मांसाहारका कारण मान्छे पशुभन्दा पनि तल्लो स्तरमा गिर्दै गएको बताए ।

नवतन धाम काठमाडौंका श्री १०८ अमृतराजले महामति प्राणनाथजीले ४०० वर्षअघि नै मानवलाई सुखी, स्वस्थ र आनन्दित बनाउन ज्ञान र दर्शनको अभूतपूर्व खोज गरेको चर्चा गरे ।

भारत चण्डीगढका श्री १०८ श्यामानन्दले माछा, मासु, मदिरा र तम्बाकु त्याग्न आह्वान गर्दै नेपालमा प्रणानाथजीको सन्देश फैलाउन रथयात्रा शुरु भएको उद्घोष गरे । सो महोत्सव फागुन ३ गते समापन हुने छ । महोत्सव अवधिभर श्रीमत्तारतम १०८ पाठ पारायण हुनेछ भने भागवतविद् पं.लीलारस सागरबाट श्रीमद्भागवतको श्रीकृष्ण कथावाचन हुने महोत्सव आयोजक समितिका अध्यक्ष गोपाल सापकोटाले बताए । रासस

कमेन्ट गर्नुहोस्