विमानस्थलमा ३ दिनदेखि बाक्लो हिमपात पर्न थालेपछि हवाई सेवा बन्द

सिमकोट, माघ २७ । हिमाली जिल्ला हुम्लाको लागि एकमात्र यातायातको साधन हवाई यातायात तीन दिनदेखि बन्द भएको छ ।

बुधबार दिउँसोबाट पर्न सुरु भएको हिमपात शुक्रबारसम्म पनि जारी रहँदा विमानस्थलमा बाक्लो हिमपात हुँदा हवाई सेवा बन्द भएको हो ।

विमानस्थलमा साढे एक फिट हिउँ जमेपछि बिहीबारबाट हुम्ला हवाई सेवा पुर्णरुपमा बन्द भएको सिमकोट विमानस्थलले जनाएको छ । लगातारको हिमपातले विमानस्थल सेताम्मे भएको र शुक्रबारबाट हिउँ पन्छाउने कार्य सुरु भएकोले हवाई सेवा सुचारु हुन एक दुई दिन लाग्न सक्ने देखिएको छ । हवाई सेवा सुचारु नहुँदा तीन दिन देखि यात्रुहरु मर्कामा परेका छन् ।

हवाई यातायात बन्द भएपछि तारा, सीता, समिट र मकालु एयरमा जाने पाँच फ्लाईट यात्रुहरु मर्कामा परेको मकालु एयरका सिमकोट ईन्चार्ज लोकेन्द्र रोकायाले बताए । यसमा बिरामी, परिक्षा दिने परिक्षार्थी र अन्य अत्यावश्यक काम भएका सेवाग्राहीहरु मर्कामा परेको उनले बताए । सिमकोटबाट नेपालगंज र सुर्खेत झर्ने यात्रु मात्र होईन दुई दिन हवाई सेवा बन्द हुँदा नेपालगंज र सुर्खेतबाट आउने यात्रु, काग्रोको सामान, खाद्यान्न र विकास निर्माणका सामाग्री पनि ढुवानी हुन नसकेको उनले बताए । सिमकोट विमानस्थलमा हिजो आज नेपालगंज र सुर्खेतबाट सबै एयरलाईन्सका जहाजहरुले दैनिक १२ देखि १५ फ्लाईट भर्ने गरेका थिए ।

३ दिनदेखि हवाई सेवा बन्द हुँदा सदरमुकाम सिमकोटमा दैनिक उपभोग्य सामानको पनि अभाव हुन थालेको छ । बजारमा दैनिक प्रयोगका सामानहरु पाईन छोडेको व्यापारी नरेन्द्र भण्डारीले बताए ।

कमेन्ट गर्नुहोस्