गगन थापा भन्छन् ‘अरुले आँट नगरे सभापतिमा उठ्न म तयार छु’

गोरखा, माघ २८ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको आगामी महाधिवेशनलाई पहिलो पुस्ताले विश्राम लिने महाधिवेशन बनाउनुपर्ने बताएका छन् । उनले महाधिवेशनलाई पछाडी धकेलेर कांग्रेसलाई फाइदा नहुने पनि बताएका थिए ।

नेपाल प्रेस युनियन गोरखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले दोस्रो पुस्ताका नेताहरुले महाधिवेशनमा सभापतिमा लड्ने आँट नगरे आफैं अघि सर्ने बताएका थिए। ‘अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु’ उनले भने, ‘तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ।’

अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बेला आएको भन्दै नेता थापाले उनीहरुबाट अबको पुस्ताको चाहना पूरा हुनै नसक्ने दाबी गरेका थिए। ‘युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु’ उनले भने, ‘अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ।’

नेता थापाले अहिलको कांग्रेस जमेको पोखरी जस्तो भएको भन्दै अब पार्टीलाई बगेको नदी जस्तो जीवन्त बनाउने बेला आएको बताए। पार्टी सञ्चालनमा व्यक्तिगत सम्बन्धमा हावी भएकाले समस्या भएको उनको तर्क थियो। उनले महाधिवेशनलाई दुईरअढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा पनि जोड दिएका थिए।

‘कांग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन’ उनले भने, ‘सरकारको जिम्मेवारीमा नभएको बेला पार्टीको महाधिवेशनलाई दुई वर्षका लागि म्याद थपेर फाइदा हुँदैन बरु महाअधिवेशनमा गएर संगठन बनाउन लाग्नुपर्छ।’ रासस

कमेन्ट गर्नुहोस्