पाकिस्तानी सेनाले खसाल्यो २ भारतीय विमान, एक पाइलट गिरफ्तार

बीबीसी । पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्। उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ।

पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे। भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्। यसअघि विदेश मन्त्रालयका प्रवक्ताले पाकिस्तानी वायुसेनाले आफ्नो आकाशभित्रै रहेर भारत-पाकिस्तान नियन्त्रणरेखापारि बम हानेको बताएका थिए।

र यो भारतले मङ्गलवार गरेको आक्रमणको प्रत्युत्तर नभएको र त्यसैले धनजनको क्षति नहुनेगरी कारबाही गरिएको मोहम्मद फैसलले बताए। समाचारसंस्था पीटीआई र रोयटर्सका अनुसार पाकिस्तानी विमान भारतीय आकाशमा प्रवेश गरेका हुन्। ती विमानहरू जम्मू-कश्मीरको राजौरी क्षेत्रमा छिरेको बताइएको छ। पीटीआईका अनुसार भारतीय विमानहरूले पाकिस्तानी विमानहरूलाई भाग्न बाध्य पारिदिएका थिए।

कमेन्ट गर्नुहोस्