नेकपाले धुम्बराहीमा जनयुद्ध दिवस मनाउदै, प्रम अाेली सहभागी नहुने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले भव्यताका साथ जनअन्दाेलन तथा जनयुद्ध दिवस मनाउने भएकाे छ ।

बिहान साढे १० बजे हुने यो कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि हुनेछन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली भने धुम्बाराहीको कार्यक्रममा सहभागी हुने छैनन् । ओली अरू कार्यक्रममा जानुपर्ने भएकाले पार्टी कार्यालयको कार्यक्रममा दाहाल मात्र सहभागी हुने नेकपाले जनाएको छ । ओलीले बुधबारै ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सार्वजनिक गर्दैछन् ।

एमाले र माओवादी केन्द्रबीच गत जेठ ३ मा एकता भएको थियो । एकताको पहिलो वर्ष भएकाले फागुन १ मा कार्यक्रम गर्ने कि नगर्ने भन्ने नेकपाभित्र विवाद थियो । तत्कालीन माओवादी धारले ‘जनयुद्ध दिवस’लाई विगतकै शैलीमा मनाउनुपर्ने माग राखेको थियो । आन्तरिक विवादकै अवस्थामा माओवादी धारका भ्रातृ संगठनहरूले आ–आफ्नो तवरले कार्यक्रम घोषणा गर्न थाले । तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघले बृहत् कार्यक्रम गर्ने भन्दै प्रचार थाल्यो ।

माओवादी धारबाट दबाब बढ्न थालेपछि तत्कालीन एमाले धारका नेताहरू पनि पार्टी कार्यालय र पार्टीकै व्यानरबाट कार्यक्रम गर्न राजी भएका हुन् । गत शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष दाहालले फागुन १ मा गर्ने कार्यक्रमबारे पनि कुरा उठाएका थिए ।

भेनेजुएलाबारे वक्तव्य, शान्ति प्रक्रियालगायत विषयले आन्तरिक तनाव बढिरहेका बेला ओलीसँगको भेटमा दाहालले पार्टी एकता नै भएपछि आन्दोलन उठान भएको दिनलाई नजरअन्दाज गर्न नहुने बताएको स्रोतले जनायो । माओवादी धारका कार्यकर्ताको भावनासँग पनि जोडिने भएकाले पार्टी केन्द्रीय कार्यालयबाटै कार्यक्रम गर्नुपर्ने दाहालले अडान राखेका थिए ।

त्यसपछि कार्यक्रमको शीर्षक केही बृहत् बनाएर धुम्बाराहीमै कार्यक्रम गर्न ओली राजी भए । त्यही सहमतिअनुसार कार्यक्रमको नाम ‘जनयुद्ध दिवस’ नभई ‘जनआन्दोलन तथा जनयुद्धका सहिदहरूप्रति श्रद्धाञ्जली’ भन्ने तय भयो । शीर्ष नेताहरूबीचको सहमतिपछि महासचिव पौडेलले तल्लो तहमा सर्कुलर जारी गरे ।

‘यही २०७५ फागुन १ गते केन्द्र, प्रदेश र जिल्ला पार्टी कार्यालयहरूमा जनआन्दोलन तथा जनयुद्धका सहिदहरूको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने निर्णय भएको छ, कमरेडको कार्यक्षेत्रअन्तर्गत तदनुरूप कार्यक्रम आयोजना हुने विश्वास गरिएको छ,’ सर्कुलरमा भनिएको थियो । सर्कुलरपछि तत्कालीन एमाले र माओवादी केन्द्रका प्रदेश र जिल्ला कमिटीले संयुक्त कार्यक्रम घोषणा गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!