६ महिनामा ८१ सुत्केरी आमालाई भत्ता

भरतपुर, फागुन १ । नवलपुरको गैंडाकोट नगरपालिकाले ६ महिनामा ८१ सुत्केरी आमालाई भत्ता दिएको छ ।

नगरपालिकाले नगरभित्रका सुत्केरी आमालाई रु तीन हजारका दरले भत्ता प्रदान गरेको हो । ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रमअन्तर्गत नगरपालिकाले सुत्केरी आमालाई प्रोत्साहन स्वरुप रु तीन हजार प्रदान गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिए ।

नगरपालिकाभित्रका बर्थिङ सेन्टरमा नियमित स्वास्थ्य परीक्षण गरेका र सुत्केरी भएका आमालाई मात्र भत्ता उपलब्ध गराएको आचार्यले बताए । नगरपालिकाभित्र गैँडाकोट र पितौजीमा दुई मात्र बर्थिङ सेन्टर सञ्चालनमा छन् । रतनपुर र अमरापुरीमा वर्थिङ सेन्टर सञ्चालनको तयारी छ ।

भरतपुरका सुविधा सम्पन्न अस्पताल नजिकै भएका कारण अधिकांश महिला सुत्केरीका लागि भरतपुर जाने गरेका छन् । तर नगरपालिकाको सुत्केरी भत्ता कार्यक्रमबाट निम्नवर्गीय र ग्रामीण इलाकाका नागरिक लाभान्वित भएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले बताए । कार्यक्रम सञ्चालनपछि नियमित स्वास्थ्य जाँच गराउने बढेको उनको भनाइ छ ।

यस कार्यक्रमले घरमा सुत्केरी गराउनेलाई निरुत्साहित गराउने र महिलाको पोषण अवस्था सुधारमा समेत सहयोग पुगेको नगरप्रमुख पौडेलले बताए । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!