डाक्टर भट्टराईले ट्विटरमै मनाए जनयुद्ध दिवस

काठमाडौँ, फागुन १ । तत्कालीन नेकपा माओवादीको नेतृत्वमा संचालित १० वर्षे जनयुद्धको सम्झनामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनयुद्ध दिवस मनाइरहे पनि जनयुद्धको प्रमुख रणनीतिकार बाबुराम भट्टराईले भने उक्त दिवस मनाएनन् ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले भने जनयुद्ध दिवस नमनाउने निर्णय गरेको हो ।

तर नयाँ शक्ति पार्टीका संयोजक रहेका डा भट्टराईले भने ट्विट गर्दै नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध दिवसको उपलक्ष्यमा सबैमा शुभकामना व्यक्त गरेका छन् ।

साथै भट्टराईले संविधानसभाबाट संघीय गणतन्त्रको संविधान प्राप्त गर्न दश बर्षे जनयुद्ध र त्यसको जगमा भएको २०६२/६३को जनआन्दोलनको प्रमुख भूमिका थियो भन्ने बिर्सिन नहुने बताएका छन् ।

डा. भट्टराईले ट्वीटरमा जनयुध्द  दिवसको शुभकामना शब्दसँगै पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो जनयुद्धकालीन तस्विर पोष्ट गरेका छन् । डा. भट्टराई र प्रचण्ड २०४८ सालदेखि ७१ सालसम्म एउटै पार्टीमा रहेर काम गरेपनि अहिले फरक-फरक पार्टीका प्रमुख छन् ।

डा. भट्टराईकै नेतृत्त्वमा २०५२ साल माघ २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ४० सूत्रीय माग पेश गरिएको थियो ।  फागुन १ गतेबात प्रारम्भ भै १० वर्ष चलेको माओवादी जनयुद्धमा १७ हजारभन्दा बढीले ज्यान गुमाए भने हजारौँ घाइते र बेपत्ता भएका थिए ।

भट्टराईको ट्विटमा रविन्द्र मिश्रको जवाफ

डाक्टर बाबुराम भट्टराईको उक्त ट्विटमा सामाजिक संजाल प्रयोगकताहरूले विभिन्न खाले टिप्पणी गरिरहँदा विवेकशील साझाका संयोजक रबिन्द्र मिश्रले त्यसको प्रत्युत्तर दिएका छन् ।

मिश्रले आफूले नचाहँदा नचाहँदै पनि गणतन्त्र स्वीकार्नुको विकल्प नरहेको बताएका छन् । मिश्र अगाडि लेख्छन्, ‘तर दुख साथ भन्नू पर्छ अहिले गणतन्त्र आए पछि धेरै राजा माहाराजाहरु को जन्म भयो ।’

भट्टराई नेतृत्वको नयाँ शक्ति र मिश्र नेतृत्वको विवेकशील साझाले स्थापनाकालदेखि नै आआफूलाई वैकल्पिक राजनीतिको प्रतिनिधि शक्तिको रूपमा दाबी गर्दै आइरहेका छन् । पछिल्लो समय राजनैतिक वृत्तमा यी दुवैबीच एकताको चर्चा सुनिँदै आएको छ ।

अन्य घटकले मनाए आ-आफैँ

उता नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टी कार्यालय धुम्बाराहीमा नेकपा अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूको उपस्थितिमा जनयुद्ध दिवस मानेको हो । पार्टीले जनयुद्ध सुरु भएको दिन फागुन १ गतेको सम्झनामा जनयुद्ध र जनआन्दोलनका शहीदको सम्मानमा पहिलोपटक कार्यक्रम गर्न लागेको जनाएको हो ।

त्यस्तै माओवादीबाट विभाजित पार्टीले पनि बुधबार जनयुद्ध दिवस मनाइरहेका छन् । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादीले केन्द्रमा शान्तिबाटिकामा कार्यक्रम गर्दै मनाउने भएकोछ भने नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पनि शान्तिबाटिकामै जनयुद्ध दिवस मनाउने भएको हो ।

यसैगरी गोपाल किराँतीले पुनर्गठन गरेको माओवादी केन्द्रले जनयुद्ध दिवस प्रज्ञा भवनमा मनाउने भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!