धनगढीमा वर्षा, रोकियो डिपिएल-३

धनगढी, फागुन २ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)-३ को आजको दोस्रो खेलमा वर्षाका कारण व्यवधान उत्पन्न भएको छ ।

बिराटनगर किंग्स र महेन्द्रनगर युनाइटेडबीचको खेल पहिलो इनिङको १९ औं ओभरमा खेल रोकिएको हो ।

हालसम्म बिराटनगरले ७ विकेट गुमाउंदै ८७ रन जोडेको छ ।

धनगढीमा वर्षा हुन थालेपछि खेलको १८.३ ओभरमा रेफ्रीले खेल रोक्ने घोषणा गरेका थिए ।

खेल रोकिँदा करण केसी (९) र समसाद शेख (१) क्रिजमा रहेका थिए ।

बिराटनगरले टस जितेर पहिले ब्याटिङ गर्ने फैसला गरेको थियो । उसको तर्फबाट असद पठानले १९ रनको पारी खेले । उनलाई कुशल मल्लले रन आउट गरे ।

यसका अतिरिक्त पृथु बाँस्कोटा १४, अविनाश यादव १३, तीर्थराज दास १२ रन बनाएर आउट भए ।

अन्य ब्याट्सम्यानको प्रदर्शन बिर्सनलायक नै रह्यो ।

सगर ढकालले ४ ओभरमा १ मेडन ओभर राखेर २१ रन खर्चिंदै ३ विकेट झारे भने मोहम्मद नाभेदले ४ ओभरको स्पेलमा १ मेडन राख्दै ११ रन खर्च गर्दै एक खेलाडीलाई प्याभेलियन फर्काए । बिराटनगरका दुई खेलाडी रन आउट भएका थिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!